Breaking Nepal

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम राष्ट्रिय महाधिवेशनका लागि ४ हजार २११ प्रतिनिधिको अन्तिम सूची तय गरेको छ । सातै प्रदेश, प्रवास संरचना, समायोजन प्रक्रिया तथा मनोनयनमार्फत प्रतिनिधि छनोट पूरा गरिएको पार्टीले जनाएको छ ।
पार्टी सचिवालयको संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार प्रतिनिधि चयनमा आन्तरिक संरचना र भौगोलिक सन्तुलनलाई प्राथमिकता दिइएको छ । सोअनुसार ३३ देशमा रहेका प्रवास सम्पर्क विभागबाट १७० प्रतिनिधि, विधानअनुसार सभापतिको मनोनयनबाट १३८ जना तथा समूहगत रूपमा पार्टी प्रवेश गरेका १९२ जनालाई समेत समेटिएको छ ।
प्रदेशगत वितरणमा कोसीबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
त्यस्तै, संगठनात्मक संरचनाअनुसार पालिका तहदेखि केन्द्रीय निकायसम्म प्रतिनिधित्व विस्तार गरिएको छ। पालिका सभापति, क्षेत्रीय सभापति, उपसभापति र जिल्ला सभापतिसहित प्रत्येक संरचनाबाट पाँच–पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । प्रदेश समितिका सम्पूर्ण सदस्य, विभिन्न प्रदेशस्तरीय विभाग, अनुशासन आयोग तथा सल्लाहकार परिषद्का पदाधिकारीहरू पनि स्वतः प्रतिनिधिका रूपमा समावेश भएका छन् ।
केन्द्रीय तहमा संघीय नेतृत्व मञ्चका सबै सदस्य, ३८ वटा केन्द्रीय विभागबाट प्रत्येकबाट ११–११ जना प्रतिनिधि तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट समान संख्यामा प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
स्थानीय तहको आधारमा प्रत्येक गाउँपालिकाबाट एक, नगरपालिकाबाट दुई, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार प्रतिनिधि छनोट गरिएको छ । साथै प्रदेश तथा जिल्ला सम्पर्क संरचनाबाट क्रमशः तीन–तीन र एक–एक प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
गत प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवार, समानुपातिक सूचीमा रहेका तथा पार्टी गतिविधिमा सक्रिय सदस्यहरूलाई पनि महाधिवेशन प्रतिनिधिका रूपमा समेटिएको छ । केन्द्रीय समितिमा नरहेका तर निर्वाचित सांसदहरू पनि प्रतिनिधिका रूपमा सहभागी हुने भएका छन् ।
रास्वपाले महाधिवेशनलाई संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।