Breaking Nepal

विराटनगर / कक्षा १२ को परीक्षामा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई विराटनगरस्थित एभरेष्ट कलेजले विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । उच्च जीपीए प्राप्त गर्दै कलेजको शैक्षिक साखलाई थप उचाइमा पुर्याएका विद्यार्थीलाई सम्मान गरिएको हो ।
सोमबार कलेज परिसरमा आयोजित कार्यक्रममा कलेज प्रशासनले ३.८१ देखि ३.९१ जीपीएसम्म प्राप्त गर्ने विद्यार्थीलाई अविर, खादा तथा मालासहित सम्मानपत्र प्रदान गरेको थियो । कार्यक्रममा कलेजका प्रिन्सिपल टीकाराम पुरीले विद्यार्थीको मेहनत, अनुशासन र लगनशीलताले संस्थाको गौरव बढाएको उल्लेख गरे ।
उनका अनुसार प्रतिस्पर्धी शैक्षिक वातावरणमा उत्कृष्ट नतिजा हासिल गर्नु विद्यार्थीको मात्र नभई अभिभावक, शिक्षक तथा संस्थाको सामूहिक उपलब्धि हो । ‘शिक्षामा गुणस्तर कायम राख्दै भविष्यका सक्षम जनशक्ति उत्पादन गर्नु हाम्रो प्राथमिकता हो,’ उनले भने ।
सम्मानित हुनेमा नेहा मण्डल, राजुकुमार साह, प्रसन्न श्रेष्ठ, आकाश श्रेष्ठ, आयोगकुमार सिंह, राहुल राजवंशी, राज गौतम, श्रीयन उपाध्याय काफ्ले, राज पोखरेल, सतिस आचार्य र अदित पौडेल रहेका छन् ।
उनले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि अतिरिक्त शैक्षिक कार्यक्रम, करिअर काउन्सेलिङ तथा प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्राथमिकता दिइएको जानकारी दिए ।
यस वर्ष कलेजका सबै विद्यार्थी परीक्षामा सफल भएका छन् । शतप्रतिशत नतिजासँगै उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या उल्लेख्य रहेकाले एभरेष्ट कलेज प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित हुँदै गएको कलेजले जनाएको छ ।
विद्यार्थीको उपलब्धिलाई संस्थागत सफलतासँग जोड्दै कलेजले आगामी शैक्षिक सत्रमा थप गुणस्तरीय शिक्षा, अनुसन्धानमुखी सिकाइ र प्रतिस्पर्धात्मक वातावरण निर्माणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेको छ ।