विराटनगरमै अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि शिक्षा : ‘पढ्दै कमाउने’ अवसरसहित एभरेस्ट कलेजले सुरु गर्‍यो बीआईटी

Breaking Nepal

सोमबार ,असार ८ , २०८३ १७:३५

विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगरमा बसेर अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि शिक्षा हासिल गर्न सकिने वातावरण थप मजबुत बनेको छ । तीन दशकभन्दा लामो शैक्षिक अनुभव बोकेको एभरेस्ट समूहले काठमाडौं विश्वविद्यालयसँगको शैक्षिक सहकार्यमा स्नातक तहको सूचना प्रविधि स्नातक (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

एभरेस्ट एजुकेसन फाउन्डेसनले पत्रकार सम्मेलनमार्फत नयाँ शैक्षिक कार्यक्रमको औपचारिक जानकारी दिँदै चालु शैक्षिक सत्रदेखि बीआईटी अध्ययन सुरु गरिएको जनाएको हो । आधुनिक प्रविधि, व्यावहारिक सिकाइ र रोजगारीमुखी पाठ्यक्रममार्फत दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनमा ल्याइएको कलेजका निर्देशक टीकाराम पुरीले बताए ।

२०५० सालमा स्थापना भएको एभरेस्टले विद्यालय तहबाट सुरु गरेको शैक्षिक यात्रा अहिले कक्षा १२ सम्म आइपुग्दा करिब २ हजार २ सय विद्यार्थी अध्ययनरत रहेको जनाएको छ । विगत ३३ वर्षको अवधिमा संस्थाले शैक्षिक गुणस्तर, अनुशासन र उत्कृष्ट नतिजामार्फत आफ्नो पहिचान स्थापित गरेको दाबी गरेको छ। विशेषगरी कक्षा १२ को यस वर्षको शतप्रतिशत नतिजाले संस्थाको शैक्षिक विश्वसनीयतालाई थप बल पुर्‍याएको जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै कलेजका निर्देशक पुरीले सूचना प्रविधि क्षेत्रको तीव्र विस्तारसँगै दक्ष जनशक्तिको माग बढिरहेको उल्लेख गर्दै प्रदेशमै गुणस्तरीय र विश्वस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले बीआईटी कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।

‘उच्च शिक्षा हासिल गर्न ठूलो आर्थिक भार बोकेर काठमाडौं वा विदेश जानुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको छ,’ उनले भने, ‘विराटनगरमै अन्तर्राष्ट्रियस्तरको पूर्वाधार, अनुभवी प्राध्यापक र काठमाडौं विश्वविद्यालयको शैक्षिक प्रणालीमार्फत विद्यार्थीलाई प्रतिस्पर्धी क्षमता विकास गराउने हाम्रो लक्ष्य हो ।’

पुरीका अनुसार चार वर्षे बीआईटी कार्यक्रम आठ सेमेस्टरमा सम्पन्न हुनेछ । कार्यक्रममा सफ्टवेयर विकास, मोबाइल अनुप्रयोग विकास, कम्प्युटर सञ्जाल, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई), तथ्यांक विश्लेषण तथा परियोजना व्यवस्थापनलगायतका विषय समावेश छन् । अध्ययनसँगै इन्टर्नसिपको व्यवस्था गरिएकाले विद्यार्थीले व्यवहारिक अनुभवसमेत प्राप्त गर्नेछन् ।

उनले विद्यार्थीलाई अध्ययनसँगै व्यावसायिक सीप र रोजगारीको अवसर दिलाउनेतर्फ कलेज केन्द्रित रहेको बताए । ‘तेस्रो सेमेस्टरपछि विद्यार्थीले पढ्दै कमाउने वातावरण सिर्जना गर्ने हाम्रो योजना छ । उद्योग, व्यवसाय र सूचना प्रविधि क्षेत्रसँगको सहकार्यमार्फत विद्यार्थीलाई सीप, अनुभव र रोजगारीका अवसरसँग जोड्ने प्रयास गरिनेछ,’ उनले भने ।

काठमाडौं विश्वविद्यालय नेपालका अग्रणी विश्वविद्यालयमध्ये एक भएको उल्लेख गर्दै पुरीले निर्धारित समयमै परीक्षा सञ्चालन, नतिजा प्रकाशन र गुणस्तरीय शैक्षिक व्यवस्थापनका कारण विश्वविद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको बताए । विश्वविद्यालयसँगको सहकार्यले प्रदेशका विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षाको थप विकल्प उपलब्ध गराएको उनको भनाइ छ ।

कलेजका कोअर्डिनेटर केशव भण्डारीका अनुसार बीआईटी अध्ययन पूरा गरेका विद्यार्थीले सफ्टवेयर इन्जिनियर, वेब विकासकर्ता, मोबाइल अनुप्रयोग विकासकर्ता, कृत्रिम बुद्धिमत्ता विज्ञ, साइबर सुरक्षा विश्लेषक, प्रणाली प्रशासक, क्लाउड इन्जिनियर, सूचना प्रविधि परामर्शदाता, तथ्यांक विश्लेषक तथा प्रविधि उद्यमीका रूपमा करियर निर्माण गर्न सक्नेछन् । साथै स्नातकपछि सूचना प्रविधि, कम्प्युटर विज्ञान, तथ्यांक विज्ञान, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, व्यवस्थापन तथा सूचना प्रणालीलगायत विषयमा स्नातकोत्तर अध्ययनको अवसरसमेत रहने उनको भनाइ छ ।

कलेजले यस वर्ष ३० जनाको संख्यामा विद्यार्थी भर्ना लिने जनाएको छ । विश्वविद्यालयको कार्यतालिकाअनुसार असार ५ देखि २५ गतेसम्म दर्ता प्रक्रिया खुला रहने भएकाले इच्छुक विद्यार्थी तथा अभिभावकलाई समयमै जानकारी लिन आग्रह गरिएको छ ।

सूचना प्रविधि क्षेत्रमा बढ्दो अवसर, विश्वव्यापी रोजगारी बजारको माग र गुणस्तरीय शैक्षिक पूर्वाधारलाई मध्यनजर गर्दै एभरेस्ट कलेजको बीआईटी कार्यक्रम प्रदेशका विद्यार्थीका लागि नयाँ सम्भावनाको ढोका बन्न सक्ने अपेक्षा गरिएको छ।