समुदायमै विपद् प्रतिकार्य जनशक्ति तयार गर्न मोरङमा स्वयंसेवक तालिम सुरु

Breaking Nepal

मंगलबार ,असार ९ , २०८३ १७:१२

विराटनगर / विपद्का घटनामा तत्काल प्रतिकार्य गर्न सक्ने दक्ष जनशक्ति समुदायस्तरमै विकास गर्ने उद्देश्यसहित मोरङमा ‘समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम’ सुरु गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजनामा तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चालन भएको कार्यक्रम सोमबारदेखि मोरङका दुई स्थानमा एकैसाथ शुभारम्भ गरिएको हो।

असार ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने तालिम सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेक्वा कंकालिनी, मोरङ तथा रंगेली नगरपालिका–४ स्थित वडा कार्यालय भवनमा सञ्चालन भइरहेको छ । स्थानीय तहमा कार्यरत नगर प्रहरी तथा समुदायका प्रतिनिधिहरूलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममार्फत विपद् व्यवस्थापनमा समुदायको सहभागिता र प्रतिकार्य क्षमतालाई थप सुदृढ बनाइने अपेक्षा गरिएको छ ।

हेक्वा कंकालिनीस्थित कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले उद्घाटन गर्दै विपद्का समयमा स्थानीयस्तरमै सक्षम र प्रशिक्षित जनशक्ति उपलब्ध हुनु अत्यावश्यक रहेको बताए। उनले विपद् जोखिम न्यूनीकरण र उद्धार कार्यलाई प्रभावकारी बनाउन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

उक्त कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीका सहायक बाहिनीपति तथा सशस्त्र प्रहरी उपरीक्षक महेश केसी, नं. ३ गण कंकालिनीका गणपति सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक राजन शर्मा सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

यस्तै, रंगेली नगरपालिका–४ स्थित वडा कार्यालय भवनमा आयोजित कार्यक्रममा रंगेली नगर कार्यपालिकाकी कार्यवाहक नगर प्रमुख भुमा पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

एक सातासम्म सञ्चालन हुने तालिममा मोरङ जिल्लाका विभिन्न स्थानीय तहका नगर प्रहरी तथा विभिन्न संघसंस्थाबाट सहभागी ४० जना प्रशिक्षार्थीलाई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, विपद् पूर्वतयारी तथा समुदायमा आधारित विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिनेछ ।

विपद्का घटनामा प्रारम्भिक प्रतिकार्यलाई प्रभावकारी बनाउँदै समुदायमै दक्ष स्वयंसेवक समूह तयार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।