सीपयुक्त प्राविधिक उत्पादनमा उद्योग संगठन मोरङको पहल, २० दिने बोइलर सञ्चालन तालिम सम्पन्न

Breaking Nepal

मंगलबार ,असार ९ , २०८३ २१:४६

विराटनगर / उद्योग क्षेत्रमा देखिएको दक्ष प्राविधिक जनशक्तिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको २० दिने बोइलर सञ्चालन तालिम सम्पन्न भएको छ । उद्योग संगठन मोरङको आयोजनामा तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा दुहबीस्थित एबीसी आयल उद्योगमा तालिम सञ्चालन गरिएको हो ।

तालिममा विभिन्न उद्योग तथा प्रतिष्ठानमा कार्यरत २० जना प्राविधिकको सहभागिता रहेको थियो । सहभागीलाई बोइलर सञ्चालनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीपसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

तालिम समापन कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योगको उत्पादकत्व वृद्धि, ऊर्जा दक्षता अभिवृद्धि र कार्यस्थल सुरक्षाका लागि दक्ष प्राविधिक जनशक्ति अपरिहार्य रहेको बताए । उद्योग क्षेत्रमा आवश्यक सीपयुक्त जनशक्तिको अभाव अझै चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले यस्ता तालिमले उद्योगको मागअनुसार दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

औद्योगिक प्रविधिको विकाससँगै दक्ष जनशक्ति उत्पादन र क्षमता अभिवृद्धिका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए ।

तालिमका प्रशिक्षक किरण मण्डल र उदेश मोदीका अनुसार कार्यक्रममा बोइलरको आधारभूत सिद्धान्त, कार्यप्रणाली, सुरक्षित सञ्चालन प्रक्रिया तथा ऊर्जा बचतका उपायसम्बन्धी विषय समेटिएका थिए । साथै नियमित निरीक्षण, मर्मतसम्भार, जोखिम व्यवस्थापन र आपतकालीन अवस्थाको सामना गर्ने विधिबारे पनि सहभागीलाई प्रशिक्षण दिइएको थियो ।

उद्योग संगठन मोरङले उद्योग क्षेत्रको आवश्यकता पहिचान गर्दै विभिन्न सीपमूलक तथा प्राविधिक तालिम सञ्चालन गर्दै आएको जनाएको छ । संगठनले आगामी दिनमा पनि उद्योगमैत्री दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर थप प्राविधिक तालिम सञ्चालन गर्ने तयारी गरेको छ ।