आर्या न्यूरो अस्पतालको गम्भीर लापरबाही : चिकित्सकले बिरामीको हात भाँचिदिएको परिवारको आरोप

Breaking Nepal

मंगलबार ,असार ९ , २०८३ २२:२८

विराटनगर / विराटनगरस्थित आर्या न्यूरो अस्पतालमाथि गम्भीर चिकित्सकीय लापरबाही, आर्थिक शोषण र बिरामीमाथि अमानवीय व्यवहार गरेको आरोप लागेको छ । बिरामी कृषल ओझाकी आमा लक्ष्मीकुमारी अधिकारीले विज्ञप्तिमार्फत अस्पतालका सञ्चालक तथा न्यूरो सर्जन डा. पंकजराज नेपाल र अस्पताल प्रशासनविरुद्ध गम्भीर आरोप सार्वजनिक गरेकी हुन् ।

अधिकारीका अनुसार मोटरसाइकल दुर्घटनामा घाइते भएका २० वर्षीय कृषल ओझाको प्रारम्भिक उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । टाउकोमा गम्भीर चोट लागेका कृषलको त्यहाँ दुईपटक शल्यक्रिया भएको थियो । त्यसपछि थप उपचारका लागि परिवारको आग्रहमा २०८२ चैत २५ गते आर्या न्यूरो अस्पताल, विराटनगरमा सारिएको थियो ।

अस्पताल पुगेपछि चिकित्सकले टाउकोमा पानी जमेको भन्दै ‘भेन्ट्रिकुलोपेरिटोनियल शन्ट’ राख्नुपर्ने सुझाव दिएका थिए । त्यसका लागि लाखौँ रुपैयाँ शुल्क असुलिएको र पटक–पटक शल्यक्रिया गरिए पनि बिरामीको अवस्थामा अपेक्षित सुधार नआएको परिवारको दाबी छ ।

सबैभन्दा गम्भीर आरोप भने फिजियोथेरापीका क्रममा बिरामीको हात भाँचिएको विषयमा छ । अधिकारीका अनुसार अस्पतालका थेरापिस्ट शैलेन्द्रकुमार साहले अत्यधिक बल प्रयोग गर्दै उपचार गर्दा २०८३ जेठ २५ गते कृषलको हात भाँचिएको थियो । ‘हामीले थेरापी अस्वाभाविक तरिकाले भइरहेको भन्दै रोक्न खोज्यौँ । तर केही हुँदैन भन्दै बलपूर्वक थेरापी जारी राखियो । त्यसलगत्तै हात सुन्नियो र भोलिपल्ट गरिएको एक्स–रेमा हात दुई टुक्रा भएको देखियो,’ उनले भनिन् ।

परिवारले घटनापछि अस्पताल प्रशासनसँग जवाफ माग्दा जिम्मेवारी स्वीकार गर्नुको सट्टा हात पहिले नै भाँचिएको दाबी गरिएको आरोप लगाएको छ । अस्पतालका चिकित्सकले उपचारको जिम्मेवारीबाट समेत पछि हट्दै बिरामीलाई हेर्न अस्वीकार गरेको परिवारको भनाइ छ ।

‘हामीले दुई महिनाभन्दा बढी समय अस्पतालमा बसेर उपचार गरायौँ । ऋण गरेर, सरसापट मागेर उपचार खर्च जुटायौँ । तर उपचारको नाममा आर्थिक, मानसिक र शारीरिक पीडा मात्रै पायौँ,’ अधिकारीले भनिन्, ‘मेरो छोराको अवस्था सुधार गर्नुको सट्टा झन् जटिल बनाइयो । न्याय नपाएसम्म यो विषय उठाइरहनेछौँ ।’

परिवारका अनुसार अस्पतालमा रहँदा करिब १८ लाख रुपैयाँ खर्च भएको छ । तर उपचारको गुणस्तर, प्रयोग गरिएको सामग्री र चिकित्सकीय प्रक्रियामाथि गम्भीर प्रश्न उठेको उनीहरूको दाबी छ ।

अधिकारीले अस्पतालमा राखिएको शन्टसमेत गुणस्तरहीन रहेको आरोप लगाएकी छन् । उनका अनुसार पछि नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा शन्ट सही रूपमा जडान नगरिएको तथा अस्थायी रूपमा बाँधेर राखिएको पाइएको थियो । त्यसपछि पुनः शल्यक्रिया गरी नयाँ शन्ट राख्नुपरेको परिवारको भनाइ छ ।

परिवारले अस्पतालमा अत्यधिक महँगो औषधि बिक्री गरिएको, उपचार शुल्कमा पारदर्शिता नराखिएको तथा बिरामीलाई आवश्यक न्यूनतम सुविधासमेत नदिइएको आरोप लगाएको छ । गर्मीयाममा समेत वार्डमा वातानुकूलित प्रणाली सञ्चालन नगरिएको, झ्याल–ढोका बन्द गरेर बिरामी राखिएको र सेवाभन्दा व्यापारलाई प्राथमिकता दिइएको दाबी विज्ञप्तिमा गरिएको छ ।

घटनापछि परिवारले जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ तथा नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएको जनाएको छ । नेपाल मेडिकल काउन्सिलमा परेको उजुरीमाथि प्रक्रिया अघि बढिरहेको परिवारले जनाएको छ ।

‘उपचारको पवित्र थलो मानिने अस्पतालमा हामीले न्याय होइन, पीडा भोग्यौँ,’ अधिकारीले भनिन्, ‘हामीमाथि भएको अन्यायको निष्पक्ष छानबिन होस्, दोषीमाथि कारबाही होस् र भविष्यमा अरू कुनै परिवारले यस्तो पीडा भोग्न नपरोस् भन्ने हाम्रो माग हो ।’

परिवारले सम्बन्धित निकायलाई घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार व्यक्ति तथा संस्थामाथि कानुनी कारबाही गर्न माग गरेको छ ।

आर्या न्यूरो अस्पतालमाथि यसअघि पनि बिरामीसित महँगो शुल्क असुल्ने गरेको गुनासो आउने गरेको थियो । साथै अस्पतालले गरिब तथा विपन्नका लागि तोकेको १० प्रतिशत सुविधासमेत नदिने गरेको आरोप लाग्दै आएको छ ।

यता, हात भाँचिएको घटनाका विषयमा अस्पतालका डा. नेपालसित सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

परिवारले उपलब्ध गराएको तस्बिर यस्तो छ–