Breaking Nepal

काठमाडौं / वर्षायाम सुरु भएसँगै आन्तरिक खपतभन्दा बढी उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशतर्फ निर्यात गर्न थालेको छ। हाल प्राधिकरणले दैनिक औसत ६५० मेगावाटसम्म विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिरहेको जनाएको छ।
प्राधिकरणका अनुसार बिहीबार मात्रै ६२० मेगावाट विद्युत् निर्यात गरिएको छ। विद्युत् उत्पादन, आन्तरिक माग तथा बजार अवस्थाअनुसार निर्यात परिमाण दैनिक रूपमा केही घटबढ हुने गरेको छ।
हाल बंगलादेशतर्फ पाँच महिनाका लागि तय गरिएको सम्झौताअनुसार ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ भने बाँकी विद्युत् भारतीय बजारमा बिक्री भइरहेको छ। प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) तथा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत निर्यात गर्दै आएको छ।
नेपाल र भारतबीच भएका ऊर्जा व्यापार व्यवस्थाअनुसार हाल नेपालले भारत र बंगलादेशमा गरी कुल १,२०० मेगावाट विद्युत् निर्यात गर्न अनुमति प्राप्त गरेको छ। वर्षायाममा जलविद्युत् आयोजनाबाट उत्पादन बढेसँगै अतिरिक्त विद्युत् व्यवस्थापन र विदेशी मुद्रा आर्जनका लागि निर्यातलाई प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार विद्युत् निर्यात विस्तारले नेपालको ऊर्जा व्यापारलाई थप संस्थागत बनाउने मात्र होइन, दक्षिण एसियाली क्षेत्रीय ऊर्जा बजारमा नेपालको उपस्थिति समेत मजबुत बनाउने अपेक्षा गरिएको छ।