कक्षा १२ नतिजा विवाद चर्कियो, त्रुटिपूर्ण मूल्याङ्कनको आरोप लगाउँदै विद्यार्थी सडकमा

Breaking Nepal

बिहीबार ,असार ११ , २०८३ १४:५५

काठमाडौं / कक्षा १२ को नतिजा सार्वजनिक भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरू सडकमा उत्रिएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा गम्भीर त्रुटि भएको आरोप लगाउँदै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरूले पुनर्मूल्याङ्कन तथा रिटोटलिङ प्रणाली प्रभावकारी नभएको, उत्तरपुस्तिका परीक्षण प्रक्रियामा पारदर्शिता अभाव रहेको तथा नतिजा प्रकाशनमा हतार गर्दा त्रुटि भएको दाबी गरेका छन्। प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीले गरेका थिए।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘१२ वर्षको मेहनतको जिम्मेवार को?’, ‘हाम्रो भविष्य बर्बाद भयो’, ‘न्याय खोज्न कहाँ जाऔं?’ तथा ‘मन्त्रीहरूको अहंकारको मूल्य विद्यार्थीले किन चुकाउने?’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूको भनाइमा छिटो नतिजा सार्वजनिक गर्ने नाममा गरिएको हतारले हजारौं परीक्षार्थी प्रभावित भएका छन्। उनीहरूले नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई शैक्षिक भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील मुद्दा भएको बताएका छन्।

प्रदर्शनकारीहरूले नतिजाको निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङको व्यवस्था, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पूर्ण पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएका छन्।

यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको स्पष्ट पार्दै आएका आरोपहरू निराधार रहेको जनाएको छ।

कक्षा १२ नतिजालाई लिएर विद्यार्थी र सरोकारवाला निकायबीच मतभेद बढ्दै जाँदा यस विषयले शैक्षिक क्षेत्रमै बहस सिर्जना गरेको छ।