न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सुरक्षा व्यवसायी प्रतिबद्ध, मजदुर संघद्वारा कोशीमा ज्ञापनपत्र

Breaking Nepal

बिहीबार ,असार ११ , २०८३ २१:३७

विराटनगर / सुरक्षा क्षेत्रमा कार्यरत श्रमिकहरूको न्यूनतम पारिश्रमिक, सेवा–सुविधा तथा श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै अखिल नेपाल सेक्यूरिटी मजदुर संघले कोशी प्रदेश सुरक्षा व्यवसायी संघलाई ज्ञापनपत्र बुझाएको छ ।

संघका केन्द्रीय सदस्य टेकनारायण श्रेष्ठ, कोशी प्रदेश अध्यक्ष, प्रदेश सचिव श्याम गौतम तथा मोरङ जिल्ला अध्यक्ष युवराज कार्कीसहितको टोलीले बिहीबार कोशी प्रदेश सुरक्षा व्यवसायी संघका अध्यक्ष तिर्थराज घिमिरेलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।

ज्ञापनपत्रमा सुरक्षा गार्ड तथा अन्य सुरक्षा श्रमिकहरूले कानुनले तोकेको न्यूनतम पारिश्रमिक प्राप्त गर्नुपर्ने, श्रम ऐनअनुसारका सेवा–सुविधा कार्यान्वयन गरिनुपर्ने तथा श्रमिकमैत्री कार्य वातावरण सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष घिमिरेले सुरक्षा क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित संरक्षण र न्यूनतम पारिश्रमिक कार्यान्वयनका विषयमा व्यवसायीहरूलाई जिम्मेवार बनाउँदै प्रभावकारी रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले श्रमिक र व्यवसायीबीचको सहकार्यबाट मात्रै क्षेत्रको दीर्घकालीन विकास सम्भव हुने उल्लेख गर्दै कानुनी व्यवस्था कार्यान्वयनमा संघले आवश्यक पहल गर्ने बताए ।

सुरक्षा क्षेत्रका श्रमिकहरूले लामो समयदेखि पारिश्रमिक, सामाजिक सुरक्षा तथा श्रम अधिकारसम्बन्धी विभिन्न चुनौती भोग्दै आएको सन्दर्भमा संघको यो पहललाई श्रमिक अधिकार सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

संघले आगामी दिनमा पनि सुरक्षा श्रमिकहरूको पेशागत अधिकार, सम्मानजनक पारिश्रमिक र सामाजिक सुरक्षाका विषयमा सरोकारवाला निकायसँग निरन्तर समन्वय तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।