Breaking Nepal

धनकुटा / नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप क्रियाशील सदस्यता वितरण तथा पुराना सदस्यताको अध्यावधिक कार्यलाई तीव्रता दिइएको बताएकी छन् ।
धनकुटामा आयोजित नयाँ क्रियाशील सदस्यता वितरण तथा पुराना सदस्यताको अध्यावधिक कार्यक्रमको अनुगमन गर्दै उनले पार्टीभित्र पूर्ण एकताको वातावरणमा नियमित महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गरिन् । उनका अनुसार संगठन सुदृढीकरण र महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर देशभर सदस्यता अभियानलाई सक्रिय बनाइएको छ ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य सुरेश सुब्बाले विशेष महाधिवेशनपछिको राजनीतिक परिस्थितिले पार्टीमा नयाँ ऊर्जा र उत्साह थपिएको उल्लेख गर्दै संगठन विस्तारमा सबै तहका नेता–कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
संविधानसभा सदस्य तथा महासमिति सदस्य लिला सुब्बाले महिला र युवालाई प्राथमिकतामा राखेर सदस्यता वितरण तथा अध्यावधिक अभियान सञ्चालन भइरहेको जानकारी दिइन् । उनले संगठनलाई थप समावेशी र गतिशील बनाउन युवापुस्ता तथा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिइन् ।
जिल्ला सचिव विजय सन्तोष राईले धनकुटामा सदस्यता वितरण तथा अध्यावधिक अभियानको प्रगति विवरण प्रस्तुत गर्दै वडा तहसम्म अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताए। कार्यक्रमको स्वागत मन्तव्य जिल्ला कार्यसमितिका सहसचिव रोशन श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा महासमिति सदस्य सुमना तिम्सिना, सहसचिव गिरिजाप्रसाद दाहाल, कोषाध्यक्ष सरस्वती मगर, जिल्ला कार्यसमितिका सदस्यहरू, निर्वाचित जनप्रतिनिधि, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा पार्टी कार्यकर्ताहरूले सदस्यता अभियानलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष संजय सन्तोषी राईसहित सञ्चारकर्मीहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसले हाल १८ देखि ३५ वर्ष उमेर समूहका युवा तथा महिलालाई विशेष प्राथमिकतामा राखेर वडा–वडामा नयाँ क्रियाशील सदस्यता वितरण तथा पुराना सदस्यताको अध्यावधिक अभियान सञ्चालन गरिरहेको जनाएको छ ।
जिल्ला सचिव विजय सन्तोष राईको संयोजकत्वमा सम्पन्न अनुगमन कार्यक्रममा सहभागीहरूले संगठन विस्तार, सदस्यता व्यवस्थापन र महाधिवेशन तयारीलाई थप प्रभावकारी बनाउने विषयमा धारणा राखेका थिए ।