राहदानी भ्रष्टाचार मुद्दा : महानिर्देशक अर्यालसहित पाँच जनालाई धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

Breaking Nepal

सोमबार ,असार १५ , २०८३ १९:४७

काठमाडौं / विशेष अदालतले राहदानी खरिद प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा अभियोग लागेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार प्रारम्भिक सुनुवाइपछि आरोपितहरूलाई विभिन्न रकमको धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र ठेकेदार पक्षका नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग जनही पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विभागका निर्देशक सुनिलकुमार केसीसँग चार लाख रुपैयाँ तथा विभागका कर्मचारी सोमेश थापा र विपीन प्रसाईंसँग जनही तीन लाख रुपैयाँ धरौटी मागिएको छ।

उक्त धरौटी रकम बुझाएपछि उनीहरूलाई मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म तारेखमा रही मुद्दा सामना गर्ने गरी रिहा गर्न अदालतले आदेश दिएको हो।

यस्तै, सोही मुद्दामा अभियोग लागेका तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई भने धरौटी नलिई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ।

राहदानी खरिद तथा व्यवस्थापन प्रक्रियामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित अधिकारी तथा सरोकारवालाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतको पछिल्लो आदेशसँगै मुद्दाको नियमित सुनुवाइ अब तारेखमा अघि बढ्नेछ।