सिल प्याक पानी पिउँदै हुनुहुन्छ ? ध्यान दिनुहोस्, नत्र बोतलभित्रको छेपारो मुखमै पर्न सक्छ !

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ १९:३९

सिरहा / तपाईं सिल प्याक गरिएको मिनिरल वाटर पिउँदै हुनुहुन्छ ? त्यसो भए एकछिन बोतललाई ध्यानपूर्वक हेर्नुहोस्। नत्र सिरहाको लहानस्थित एक होटलमा बिक्रीका लागि राखिएको पानीको बोतलभित्र भेटिएको छेपारोझैं अप्रिय दृश्य तपाईंको गिलास वा मुखसम्म पुग्न पनि सक्छ।

यस्तै गम्भीर लापरवाही सार्वजनिक भएपछि सिरहाको लहानमा ‘ऋषि जल’ ब्रान्डको प्रशोधित पिउने पानी उत्पादन गर्ने केवी एण्ड सन्स नेपाल कम्पनीलाई प्रशासनले दुई लाख रुपैयाँ जरिबाना गरेको छ। सिलबन्दी गरिएको पानीको बोतलभित्र छेपारो भेटिएको घटनालाई मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर लापरवाही ठहर गर्दै कारबाही गरिएको हो।

इलाका प्रशासन कार्यालय लहानका अनुसार असार १० गते लहान नगरपालिका–३ स्थित ‘न्यू भान्जा होटल’मा बिक्रीका लागि राखिएको उक्त कम्पनीको पानीको बोतलभित्र छेपारो देखिएको भन्दै उपभोक्ताबाट टेलिफोनमार्फत गुनासो प्राप्त भएको थियो। त्यसलगत्तै खटिएको अनुगमन टोलीले घटनास्थलमै पुगेर निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा कम्पनीबाट अनुचित व्यापारिक तथा व्यवसायजन्य गतिविधि भएको तथा उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गर्ने गरी उत्पादन बजारमा पठाइएको निष्कर्ष निकालिएको प्रशासनले जनाएको छ। सोही आधारमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कम्पनीलाई दुई लाख रुपैयाँ जरिबाना गरिएको हो।

प्रशासनका अनुसार उक्त कम्पनीबाट उत्पादित पानीबारे यसअघि पनि विभिन्न गुनासा प्राप्त भइरहेका थिए। त्यसपछि कम्पनी सञ्चालकलाई कार्यालयमा बोलाएर आगामी दिनमा उत्पादन प्रक्रिया, गुणस्तर परीक्षण र बजार व्यवस्थापनमा विशेष सावधानी अपनाउन निर्देशन दिइएको छ।

यससँगै बजारमा वितरण भइसकेका समस्याग्रस्त ब्याचका ‘ऋषि जल’का सबै बोतल तत्काल फिर्ता संकलन गर्न कम्पनीलाई आदेश दिइएको प्रशासनले जनाएको छ। यस्ता कमजोरी पुनः दोहोरिए कानुनअनुसार अझ कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।

घटनापछि प्रशासनले उपभोक्तालाई पनि सचेत रहन आग्रह गरेको छ। कुनै पनि सिल प्याक गरिएको खानेकुरा वा पिउने वस्तु खरिद तथा उपभोग गर्नुअघि त्यसको बाहिरी अवस्था, सिल, उत्पादन विवरण र गुणस्तर ध्यानपूर्वक जाँच्न तथा कुनै असामान्यता वा खराबी भेटिए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।