आलुको परिकारमा साङ्ला भेटिएपछि झम्सिखेलको अडोरा होल्डिङलाई २.५ लाख जरिवाना

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ १८:५८

काठमाडौं । ललितपुरको झम्सिखेलस्थित अडोरा होल्डिङमा खाद्य सुरक्षा मापदण्ड उल्लंघन भएको पुष्टि भएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। आलुको परिकारमा साङ्ला भेटिएको उपभोक्ताको उजुरीपछि गरिएको संयुक्त अनुगमनमा म्याद गुज्रिएका खाद्य सामग्री, लेबलविहीन खाद्यवस्तु तथा अन्य गम्भीर कमजोरी फेला परेका हुन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा व्हाट्सएपमार्फत उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार आकस्मिक बजार अनुगमन गरेको थियो।

अनुगमनका क्रममा एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, करिब तीन किलो लेबलविहीन चाउमिन प्रयोग गरिएको, कृत्रिम खाद्य रङ प्रयोग भएको तथा प्रयोगपछि राखिएको करिब एक लिटर खाने तेलको टोटल पोलार मेटेरियल (टीपीएम) मूल्य ३३ पुगेको पाइएको विभागले जनाएको छ। साथै खाद्य सामग्री भण्डारणका लागि प्रयोग गरिएको फ्रिजसमेत अव्यवस्थित अवस्थामा रहेको भेटिएको थियो।

अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अडोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।

विभागका अनुसार म्याद गुज्रिएका खाद्य सामग्री थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। उच्च टीपीएम भएको करिब एक लिटर खाने तेल र लेबलविहीन करिब तीन किलो चाउमिन तत्काल नष्ट गरिएको छ।

साथै व्यवसायलाई खाद्य स्वच्छता मापदण्ड पूर्ण रूपमा पालना गर्न, खाद्य सामग्रीको सुरक्षित भण्डारण सुनिश्चित गर्न तथा फ्रिज व्यवस्थापन सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ।