कोशी प्रदेश पौडीमा मोरङलाई च्याम्पियन बनाउन योगदान दिने एभरेष्टका खेलाडी सम्मानित

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ १९:२५

विराटनगर / कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा मोरङलाई समग्र उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका एभरेष्ट स्कुलका खेलाडीलाई विद्यालयले सम्मान गरेको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा मोरङ जिल्ला टोलीबाट प्रतियोगितामा सहभागी ६ जना खेलाडीलाई सम्मान गरिएको हो । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अबिर र खादा लगाएर खेलाडीलाई सम्मान गर्दै प्रदेशस्तरको सफलताले विद्यालयको प्रतिष्ठासमेत उकासेको बताए । उनले आगामी राष्ट्रिय तथा अन्तरप्रदेशीय प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई प्रेरित गरे ।

कोशी प्रदेश पौडी संघको आयोजनामा असार १६ र १७ गते सुनसरीको इटहरीस्थित ओसियन पार्कमा सम्पन्न प्रतियोगितामा मोरङ पहिलो, भोजपुर दोस्रो र झापा तेस्रो भएका थिए । १४ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा मोरङको सफलतामा एभरेष्ट स्कुलका ६ खेलाडीले मात्र ३ स्वर्णसहित १६ पदक जितेर उल्लेखनीय योगदान दिएका थिए ।

एभरेष्टका आरध्य पाण्डेले ५० मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर फ्रिस्टाइलमा स्वर्ण जित्दै दुई स्वर्ण पदक हात पारे । धावा तामाङले ५० मिटर बटरफ्लाईमा स्वर्ण, ५०, १००, ४०० र ८०० मिटर फ्रिस्टाइलमा चार रजत तथा २०० मिटर फ्रिस्टाइलमा एक कास्यसहित कुल ६ पदक जिते ।

त्यस्तै, कृतक बास्तोलाले ५० र १०० मिटर ब्याकस्ट्रोकमा दुई रजत पदक जिते भने ओनस प्रधानले सोही स्पर्धामा दुई कास्य पदक जिते । हर्षित सिंहले २०० मिटर ब्रेस्टस्ट्रोकमा रजत तथा युवन श्रेष्ठले २५ र ५० मिटर फ्रिस्टाइलमा दुई कास्य पदक जितेको विद्यालयकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोलले जानकारी दिइन् ।

मोरङको समग्र सफलतामा अन्य विद्यालयका खेलाडीको पनि योगदान रहेको थियो। जिग्सन तामाङले ५०, १००, २००, ४०० र ८०० मिटर स्पर्धामा पाँच कास्य पदक जिते । डीपीएस स्कुलका भियान केडियाले ८ वर्षमुनि उमेर समूहको २५ र ५० मिटर फ्रिस्टाइलमा दुई स्वर्ण जिते भने बीकेभीएमका बिसु पराजुलीले २५ र ५० मिटर फ्रिस्टाइलमा दुई रजत तथा १०० मिटर फ्रिस्टाइलमा एक कास्य पदक जिते ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले गरेका थिए । प्रतियोगिताका लागि बोर्डले बजेट विनियोजन गरेको कोशी प्रदेश पौडी संघका अध्यक्ष डम्बर तामाङले जानकारी दिए ।