केसलिया खोला किनारमा ‘मिनी जंगल’ अभियान, पहिलो चरणमा १ हजार ६ सय बिरुवा रोपिने

Breaking Nepal

शुक्रबार ,असार १९ , २०८३ ०७:२०

विराटनगर / जलवायु परिवर्तन, तीव्र शहरीकरण, नदी कटान, भूक्षय तथा हरित क्षेत्रको निरन्तर संकुचनलाई लक्षित गर्दै विराटनगरमा नदी संरक्षणसँगै ‘मिनी जंगल’ निर्माण अभियान सुरु गरिएको छ। हरियो पाइला विराटनगरले सब–डिभिजन वन कार्यालय विराटनगरसँगको सहकार्यमा विराटनगर महानगरपालिका–४ र ५ अन्तर्गत केसलिया खोला किनारको करिब दुई बिघा ऐलानी जग्गामा पहिलो चरणमा १ हजार ६ सय बिरुवा रोप्ने अभियान अघि बढाएको हो।

अभियानअन्तर्गत नदी किनारको सार्वजनिक जग्गालाई संरक्षण गर्दै हरियालीयुक्त सार्वजनिक पर्यावरणीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको संस्थाले जनाएको छ। वृक्षारोपणसँगै बिरुवाको दीर्घकालीन संरक्षण, स्याहार–सम्भार र प्राकृतिक वनको स्वरूप विकास गर्ने योजना पनि अभियानमा समेटिएको छ।

अभियानको शुभारम्भ कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुली, हरियो पाइला विराटनगरका अध्यक्ष नवीनचन्द्र अधिकारी, अष्टचिरञ्जीवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनायक पन्त तथा वन पैदावार महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष बाबुराम घिमिरेले संयुक्त रूपमा रुद्राक्षको बिरुवा रोपेर गरेका थिए।

संस्थाका अनुसार केसलिया खोलामा वर्षायाममा हुने कटानका कारण आसपासका सार्वजनिक जग्गा जोखिममा पर्ने भएकाले गहिरो र बलियो जरा फैलाउने रैथाने प्रजातिका बिरुवा रोपेर माटो बाँध्ने, भूक्षय नियन्त्रण गर्ने तथा बाढीजन्य क्षति न्यूनीकरण गर्ने लक्ष्य लिइएको छ।

अभियानअन्तर्गत काँस, बाँस, सिसौ, खयर, अर्जुन, साज, सिमल, बर, पीपल, रुद्राक्ष, तित्री, जुलेबी, ताड, खजुर, नीम, बकाइनो, जामुन, बेल, कदम्ब, हर्रो, बर्रो र अमलालगायत तराई क्षेत्रमा उपयुक्त र वातावरणीय दृष्टिले महत्वपूर्ण रैथाने प्रजातिका बिरुवा रोपिनेछन्। मन्दिर परिसर तथा उपयुक्त स्थानमा आँप, लिची, कटहर, अम्बा र कागतीजस्ता फलफूलका बिरुवासमेत रोपिने कार्यक्रम छ।

संस्थाका अनुसार अभियानको उद्देश्य वृक्षारोपणमा मात्रै सीमित छैन। नियमित सिँचाइ, घेराबार, मलजल, संरक्षण र अनुगमनमार्फत सबै बिरुवालाई हुर्काएर दिगो हरित क्षेत्र निर्माण गरिनेछ। स्थानीय समुदाय, युवा, विद्यार्थी, सामाजिक संस्था तथा सरकारी निकायको सहभागितामा यस क्षेत्रलाई नमुना वातावरणीय संरक्षण परियोजनाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

वातावरणविद्का अनुसार नदी किनारमा यस्ता रैथाने प्रजातिका बिरुवाले माटो मजबुत बनाउनुका साथै कार्बन डाइअक्साइड अवशोषण गरी अक्सिजन उत्पादन बढाउने, धुलो तथा ध्वनि प्रदूषण घटाउने र सहरी तापक्रम नियन्त्रणमा योगदान पुर्‍याउनेछन्। हरित क्षेत्र विस्तारसँगै चराचुरुङ्गी, मौरी, पुतली तथा अन्य जीवजन्तुको प्राकृतिक बासस्थान पुनःस्थापित हुने अपेक्षा गरिएको छ।

हरियो पाइला विराटनगरले दीर्घकालमा केसलिया खोला आसपासको क्षेत्रलाई नदी संरक्षण क्षेत्र, मिनी जंगल, सहरी हरित पार्क, विश्रामस्थल, धार्मिक पर्यटन केन्द्र, पैदल मार्ग, साइकल ट्र्याक, पक्षी अवलोकन स्थल तथा खुला वातावरणीय अध्ययन केन्द्रका रूपमा विकास गर्ने योजना सार्वजनिक गरेको छ। जाडो मौसममा पारिवारिक घुमफिर तथा पिकनिकका लागि समेत आकर्षक हरित गन्तव्य बनाउने लक्ष्य रहेको संस्थाले जनाएको छ।

संस्थाका अनुसार पहिलो चरणमा यही साताभित्र विराटनगर–४ र ५ मा दुई बिघाभन्दा बढी क्षेत्रफलमा १ हजार ६ सय बिरुवा रोपिनेछ। आगामी दिनमा विराटनगरका प्रमुख नदी केसलिया र सिंघियाका ऐलानी तथा उकास जग्गाको पहिचान गरी नदी संरक्षण तथा हरित क्षेत्र विस्तार अभियानलाई क्रमशः अगाडि बढाइने योजना रहेको छ।