लायन्स क्लब अफ विराटनगर सोसलको अध्यक्षमा अग्रवाल, विद्यालयबाट सामाजिक अभियानको सुरुआत

Breaking Nepal

शुक्रबार ,असार १९ , २०८३ ०८:१६

विराटनगर / लायन्स क्लब अफ विराटनगर सोसलले सन् २०२६/२७ कार्यकालका लागि देवकीनन्दन अग्रवाललाई अध्यक्ष चयन गरेको छ । नयाँ कार्यसमितिले आफ्नो कार्यकालको सुरुआत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेर गरेको छ ।

क्लबले विराटनगर–१० स्थित नारायण माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई स्टेशनरी सामग्री र विद्यालय पोशाक वितरण गरेको हो । कार्यक्रममार्फत आर्थिक रूपमा आवश्यकता भएका विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुर्‍याउने उद्देश्य राखिएको क्लबले जनाएको छ ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष लीला ढुङ्गेल, जिल्ला गभर्नर लीला चिमरिया, पूर्व जिल्ला गभर्नर विकास अधिकारी, मीना ढुङ्गेल, चन्द्र अधिकारी, डा. सुनील रेग्मीलगायत लायन्सका वरिष्ठ पदाधिकारी तथा नेतृत्वको उपस्थिति थियो। त्यसैगरी क्लबका पदाधिकारी, सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको पनि सहभागिता रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष अग्रवालको नेतृत्वमा क्लबले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामूलक गतिविधिलाई आगामी कार्यकालमा थप प्रभावकारी रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ ।