१८ जिल्लाका ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम, धान खेतीमा यान्त्रिकीकरण र उत्थानशील जात प्रवर्द्धन

Breaking Nepal

आइतबार ,असार २१ , २०८३ १२:३५

काठमाडौं। कृषि विभागले गुणस्तरीय बीउमा किसानको पहुँच विस्तार गर्ने उद्देश्यसहित १८ जिल्लाका ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत उन्नत बीउ उत्पादन र प्रवर्द्धनलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको विभागले जनाएको छ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले धान बालीमा उत्थानशील जात विकासमा जोड दिइएको छ। धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने तथा सुकाउने (AWD) र वर्षा पानी सङ्कलनजस्ता प्रविधिको विस्तारमार्फत उत्पादन प्रणालीलाई आधुनिक बनाउने योजना रहेको उनले बताए।

कार्यक्रमअन्तर्गत हर्दिनाथ–१ र हर्दिनाथ–३ वर्णशङ्कर जातको प्रवर्द्धन, २१ जोन र ५ सुपरजोनमार्फत वर्खे तथा चैते धानमा यान्त्रिकीकरण विस्तार तथा मूल्य शृङ्खला विकास गरिनेछ। साथै चैते धान प्रवर्द्धनमा किसानलाई लक्षित अनुदानसमेत उपलब्ध गराइने विभागले जनाएको छ।

यसैगरी, विभागले यस वर्षदेखि धानमा आधारित विशेष परियोजना महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का आठ स्थानीय तहमा सुरु गरेको छ। परियोजनामार्फत बीउ उत्पादन, प्रविधि विस्तार र उत्पादन लागत घटाउने लक्ष्य लिइएको छ।

कृषि क्षेत्रलाई जलवायु–अनुकूल, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउने रणनीतिसहित कार्यक्रम अघि बढाइएको विभागको भनाइ छ।