कङ्गोमा इबोला प्रकोप तीव्र, संक्रमित १,५२८ पुग्दा ४९२ को मृत्यु

Breaking Nepal

आइतबार ,असार २१ , २०८३ १३:४२

किन्शासा। ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोला प्रकोप समुदायस्तरमै फैलिँदै जाँदा संक्रमितको संख्या १ हजार ५२८ पुगेको छ भने मृतकको संख्या ४९२ पुगेको छ।

जनस्वास्थ्य अधिकारीहरूले शनिबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार हालसम्म २३९ जना संक्रमित निको भएका छन् भने ६२८ जना विभिन्न आइसोलेसन केन्द्र तथा अस्पतालमा उपचाररत छन्। थप १८५ जना शंकास्पद बिरामीको पहिचान गरिएको छ।

प्रतिवेदनमा पछिल्ला साताहरूमा नयाँ संक्रमण दर निरन्तर बढिरहेको उल्लेख छ। २५औँ र २६औँ हप्तामा मात्र प्रत्येक सातामा ३०० भन्दा बढी नयाँ संक्रमण पुष्टि भएको तथ्यांकले समुदायस्तरमा संक्रमण अझै सक्रिय रूपमा फैलिरहेको संकेत गरेको छ।

उत्तर किभु लगायतका प्रभावित क्षेत्रमा इबोला उपचार केन्द्रको सीमित क्षमता, मृत्यु पश्चात नमूना संकलनमा समुदायको असहयोग, तथा सम्पर्क ट्रेसिङ प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको अवस्थाले नियन्त्रण प्रयासमा चुनौती थपिएको जनाइएको छ।

त्यस्तै, प्रयोगशाला परीक्षणमा ढिलाइ, औषधि तथा संक्रमण नियन्त्रण सामग्रीको अभाव, सुरक्षा जोखिम र प्रभावित क्षेत्रमा सीमित पहुँचका कारण महामारी नियन्त्रण कार्य प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।

यसैबीच विश्व स्वास्थ्य संगठन (WHO) ले ‘बुन्डिबुग्यो’ भाइरसबाट हुने इबोलाको सम्भावित उपचारको प्रभावकारिता मूल्यांकन गर्न कङ्गोमा क्लिनिकल परीक्षण सुरु गरिएको जनाएको छ। उक्त प्रकारको इबोलाका लागि हालसम्म कुनै स्वीकृत खोप वा विशिष्ट उपचार उपलब्ध छैन।