क्रियाशील सदस्यता विवाद अन्त्य गर्न पौडेलको आग्रह, सरकारको १०० दिनप्रति गम्भीर प्रश्न

Breaking Nepal

आइतबार ,असार २१ , २०८३ १८:०५

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै सबै नेता–कार्यकर्तालाई अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्।

आइतबार नयाँ क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रमअन्तर्गत युवासँग आयोजित अन्तरक्रियामा पौडेलले पार्टी विधानको मर्म र सीमाभित्र रहेर सदस्यता व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्ने बताए। आगामी १५औँ महाधिवेशन विधिसम्मत, पारदर्शी र व्यवस्थित ढंगले सम्पन्न गर्न सदस्यता अद्यावधिक अभियानलाई सफल बनाउनुपर्ने उनको भनाइ थियो।

नेतृत्वप्रति सम्मान कायम राख्ने पक्षमा आफूहरू रहेको उल्लेख गर्दै उनले विधानको दायराभन्दा बाहिर गएर कुनै पनि निर्णय वा प्रक्रिया अघि बढाउन नहुने स्पष्ट पारे। संस्थापन र इतर दुवै पक्षका नेता–कार्यकर्ताले आन्तरिक मतभेदलाई थाती राखेर अभियानलाई सफल बनाउन सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

सदस्यता अद्यावधिक अभियानलाई लिएर अनावश्यक भ्रम फैलाइएको टिप्पणी गर्दै पौडेलले अभियानको उद्देश्य पुराना सदस्यलाई हटाउनु नभई उनीहरूको विवरण अद्यावधिक गरी एकीकृत अभिलेख तयार गर्नु रहेको स्पष्ट गरे।

कार्यक्रममा उनले सरकारको कार्यशैलीमाथि पनि कडा टिप्पणी गरे। सरकार गठन भएको करिब १०० दिन पुग्न लाग्दा जनतामा विश्वास र भरोसा जगाउनेभन्दा आशंका र अन्योल बढाउने काम भएको उनको आरोप थियो।

पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लोकतान्त्रिक र संसदीय व्यवस्थाबाट निर्वाचित भएर सत्तामा पुगे पनि त्यही व्यवस्थाको आधार कमजोर पार्ने नीति अघि सारेको दाबी गरे। रास्वपाले संघीयता खारेज गर्नेजस्ता संविधान र वर्तमान व्यवस्थाविपरीतका निर्णय गरेको आरोप लगाउँदै उनले त्यसप्रति असन्तुष्टि जनाए।

उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र रास्वपा नेतृत्वले निर्वाचनका बेला प्रस्तुत गरेको प्रतिबद्धता र सत्तामा पुगेपछिको व्यवहारबीच अन्तर देखिएको टिप्पणी गरे। लोकतान्त्रिक प्रणालीकै माध्यमबाट सत्तामा पुगेर त्यही प्रणालीमाथि प्रश्न उठाउने प्रवृत्तिले लोकतान्त्रिक व्यवस्थाप्रति नै चुनौती सिर्जना गरेको भन्दै उनले सरकारको १०० दिने कार्यकाल समग्रमा संशयपूर्ण रहेको दाबी गरे।