Breaking Nepal

काठमाडौं । पर्सा प्रहरीले भारततर्फ लैजाँदै गरिएको १०२ किलो ६३६ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको निगरानीका क्रममा ठूलो परिमाणको लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार राति करिब ११ बजे पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित भित्री सडकमा भारततर्फ गइरहेको भारतीय नम्बर प्लेटको कारलाई रोकेर खानतलासी गरिएको थियो। सो क्रममा कारभित्र १० वटा प्याकेटमा लुकाएर राखिएको १०२ किलो ६३६ ग्राम गाँजा फेला परेको हो।
बरामद गाँजासहित भारतको बिहार राज्य, बेतिया नवलपुरका ३२ वर्षीय गुड्डु बर्मालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीले चलाएको बीआर ०१ सीयू ३५४४ नम्बरको रातो रङको कारसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले लागुऔषध, सवारीसाधन र पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।