नेप्सेमा संकुचन : परिसूचक २६ अंकले ओर्लिँदा कारोबार रकम साढे ३ अर्बमा सीमित

Breaking Nepal

सोमबार ,असार २२ , २०८३ १७:०६

काठमाडौँ / धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन सोमबार पनि निराशा कायमै रहेको छ । आइतबार सार्वजनिक बिदा परेका कारण सोमबारबाट सुरु भएको यो साताको पहिलो बजारमा बिक्री चाप बढ्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ । गत साताको अन्तिम दिन शुक्रबार ८.३० अंकले घटेको बजारमा सोमबार थप गिरावट आउँदै नेप्से परिसूचक २६.२९ अंक (०.९९ प्रतिशत) ले ओरालो लागेको हो ।

सोमबारको कारोबारपछि नेप्से परिसूचक २६२७ विन्दुमा ओर्लिएर बन्द भएको छ । दिनभरजसो उतारचढावबीच ओरालो यात्रा तय गरेको बजार अन्ततः रातो अंकमै समेटियो, जसले लगानीकर्तामा अझै पर्ख र हेरको अवस्था रहेको संकेत गर्दछ ।

कारोबार रकममा गिरावट, बजारमा बिक्रेता हाबी

परिसूचकसँगै बजारको अर्को महत्त्वपूर्ण सूचक कारोबार रकममा पनि संकुचन आएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा सोमबार त्यो परिमाण घटेर ३ अर्ब ५५ करोड रुपैयाँमा सीमित भएको छ । यसले बजार घट्दा क्रेताहरू पर्खने मनस्थितिमा रहेको देखाउँछ ।

बजारको कुल बजार ‘ब्रेथ’ हेर्दा सोमबार २३९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने जम्मा ३४ कम्पनीको मूल्य मात्र हरियो रहन सक्यो । बाँकी ४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

व्यापार समूहमा उच्च गिरावट, सबै उपसूचक राताम्मे

सोमबार बजारका सबै उपसमूह (सब-इन्डेक्स) फराकिलो अंकले घटेका छन् । जसमध्ये ‘व्यापार समूह’ सबैभन्दा धेरै ३.१५ प्रतिशतले ओरालो लाग्यो । दुईवटा मात्रै कम्पनी सूचीकृत रहेको यस समूहमा बजार पूँजीकरणका आधारमा विशाल हिस्सा ओगटेको विशाल बजार कम्पनीको सेयर मूल्य ३.५० प्रतिशतले घटेपछि समग्र समूह नै नराम्ररी प्रभावित भएको हो ।

अन्य समूहहरूमा फाइनान्स १.२४ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१७ प्रतिशत र बैंकिङ उपसमूह १.०६ प्रतिशतले घटेका छन् । यस्तै, हाइड्रोपावर ०.९८, निर्जीवन बीमा ०.९८, माइक्रोफाइनान्स ०.८९, होटल तथा पर्यटन ०.७८, लगानी ०.७२, जीवन बीमा ०.६९, अन्य ०.५२ र विकास बैंक ०.३० प्रतिशतले ओरालो लागेका छन् ।

नयाँ कम्पनीमा आकर्षण, थ्रिस्टारको मूल्यमा उच्च गिरावट

समग्र बजार घटे पनि हालै मात्र बजारमा सूचीकृत भएका तीन नयाँ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सानीगढ हाइड्रोपावर, कालंगा हाइड्रोपावर र स्नो रिभर फल्सको सेयर मूल्य करिब १० प्रतिशत (साविक व्यवस्थाअनुसारको सर्किट) ले वृद्धि भएको छ । यसबाहेक कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ११.५५ प्रतिशत र बाराही हाइड्रोपावरको मूल्य ४.०२ प्रतिशतले बढेको छ ।

यता, सर्वाधिक गुमाउने कम्पनीको सूचीमा थ्रिस्टार हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको मूल्य १३.७९ प्रतिशतले घट्न पुग्यो । अघिल्लो कारोबार दिन उच्च वृद्धि भएको नेपाल फाइनान्समा सोमबार नाफा सुरक्षित गर्ने होड चल्दा मूल्य ११.६४ प्रतिशतले सस्तियो । खानीखोला हाइड्रोपावरको ९.७२ प्रतिशत तथा उपकार लघुवित्तको सेयर मूल्य ६.४५ प्रतिशतले घटेको छ ।

सोमबार सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत्, सिटी होटल र शिवम् सिमेन्ट सर्वाधिक कारोबार हुने शीर्ष ५ कम्पनीको सूचीमा पर्न सफल भए ।