ग्रीनसिफ्ट परियोजनामा उत्कृष्ट ठहरिँदै फुलवारीलाई २० लाख नगदसहित अन्तर्राष्ट्रिय सम्मान

Breaking Nepal

सोमबार ,असार २२ , २०८३ १७:५१

विराटनगर / फोहोरमैला व्यवस्थापन र अपसाइकलिङ क्षेत्रमा सक्रिय नेपाल फुलवारी वेस्ट थ्री आर पोलुशन कन्ट्रोल सर्भिस प्रालिले युरोपियन युनियनबाट २० लाख रुपैयाँ बराबरको अनुदानसहित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।

क्रिएसन नेपालद्वारा युरोपियन युनियनको सहयोगमा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत निजी फोहोरमैला उद्यम तथा अपसाइकलिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेको आधारमा संस्थालाई उक्त सम्मान प्रदान गरिएको हो।

संस्थाले प्लास्टिकजन्य फोहोरको व्यवस्थापन, चक्रिय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरणीय दिगोपनमा पुर्‍याएको योगदानलाई मूल्यांकन गर्दै प्रमाणपत्र तथा आर्थिक सहयोग प्रदान गरिएको जनाइएको छ । उक्त प्रमाणपत्रमा संस्थाका अध्यक्ष आनन्द मिश्र र युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको हस्ताक्षर रहेको उल्लेख छ ।

अनुदानस्वरूप प्राप्त रकम संस्थाको पूर्वाधार विस्तार तथा सञ्चालन व्यवस्थापनमा प्रयोग गरिएको छ । व्यवस्थापन पक्षका केदार घिमिरेका अनुसार सो रकमबाट भौतिक संरचना निर्माणसँगै कर्मचारीका लागि अस्थायी आवास सुविधा समेत तयार गरिएको छ ।

फुलवारीले काठमाडौँ उपत्यका र भक्तपुर क्षेत्रमा करिब १३ हजार घरधुरीबाट फोहोर संकलन गर्दै आएको छ । त्यस्तै विराटनगर महानगरपालिकामा ११ हजारभन्दा बढी र सुन्दरहरैचा नगरपालिकामा १२ हजारभन्दा बढी घरधुरीमा सेवा विस्तार गरिएको छ ।

स्थानीय तहसँगको सहकार्यमा फोहोर संकलन तथा व्यवस्थापन गर्दै फोहोरलाई पुनः प्रयोगयोग्य स्रोतमा रूपान्तरण गर्ने अभियान सञ्चालन भइरहेको छ । संस्थाले शहरी स्वच्छता र दिगो वातावरणीय व्यवस्थापनलाई लक्ष्य बनाएको जनाएको छ ।