रामेश्वर खनालको चेतावनी: निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचारले संस्थागत रूप लिन्छ

Breaking Nepal

मंगलबार ,असार २३ , २०८३ १२:१४

काठमाडौँ – पूर्वसचिव तथा पूर्वअर्थमन्त्री रामेश्वर खनालले सार्वजनिक पदमा रहेका उच्च अधिकारीले निजी र सार्वजनिक जीवनबीच स्पष्ट सीमा कायम गर्न नसक्दा भ्रष्टाचार र कुशासनले संस्थागत रूप लिने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले शक्तिशाली पदाधिकारीको परिवार र निवासलाई माध्यम बनाएर बिचौलियाहरूले प्रभाव विस्तार गर्ने प्रवृत्ति नेपाली शासकीय संयन्त्रको गम्भीर समस्या भएको उल्लेख गरेका छन्।

खनालका अनुसार शक्तिशाली अधिकारीको घरमा आउने व्यक्तिहरूले सुरुमा परिवारका सदस्यसँग निकटता बढाउने, प्रशंसा गर्ने तथा उपहारमार्फत सम्बन्ध विस्तार गर्ने रणनीति अपनाउँछन्। यसरी परिवारसँग सम्बन्ध मजबुत बनाएपछि उनीहरूले आफ्नो स्वार्थअनुसार निर्णय गराउन सहज हुने वातावरण सिर्जना गर्ने गरेको उनको भनाइ छ।

उनले यस्तो प्रभाव बढ्दै जाँदा बिचौलियाले सम्बन्धित निकायका अधिकारीहरूलाई समेत आफू नै निर्णयकर्ता भएझैँ निर्देशन दिने अवस्था सिर्जना हुने उल्लेख गरेका छन्।

खनालले यस्तो प्रवृत्ति विगतदेखि नै नेपालको शासकीय प्रणालीमा देखिएको समस्या भएको उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिले निजी र सार्वजनिक जीवनबीच स्पष्ट दूरी कायम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।