साउन नजिकिँदै गर्दा ‘मधेसको कैलाश’ टुटेश्वरनाथ महादेव मन्दिर साजसज्जा र सरसफाइमा व्यस्त

Breaking Nepal

मंगलबार ,असार २३ , २०८३ १३:३६

महोत्तरी — भगवान् शिवको आराधना र उपासनाको महिना साउन नजिकिँदै जाँदा महोत्तरीको बर्दिबास–५ मा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिर परिसरमा सरसफाइ तथा साजसज्जाको काम तीव्र रूपमा अघि बढाइएको छ।

‘मधेसको कैलाश’ भनेर चिनिने यस मन्दिर क्षेत्रलाई साउन महिनामा आउने श्रद्धालु भक्तजनका लागि आकर्षक र व्यवस्थित बनाउने उद्देश्यले मन्दिर संरक्षण समितिले रङरोगन, सरसफाइ तथा कलात्मक सजावटका कामलाई विशेष प्राथमिकता दिएको जनाएको छ। मन्दिर वरपरका चुरेथुम्कामा रहेका रुखहरू समेत रङरोगन गरी वातावरणलाई अझ रमणीय बनाइँदैछ।

सौरमास र चन्द्रमासको गणनाअनुसार साउनभरि धार्मिक मेला लाग्ने परम्परा रहँदै आएको यस स्थानमा यस वर्ष साउन १ गतेदेखि साउन पूर्णिमा (भदौ १२ गते) सम्म मेला सञ्चालन हुने समितिले जनाएको छ। विशेषगरी साउन महिनाका सोमबारहरूमा दर्शनार्थीको ठूलो भीड लाग्ने भएकाले तयारी पहिल्यैदेखि सुरु गरिएको समितिका अध्यक्ष राजाराम यादवले बताए।

चुरेस्थित पहाडी थुम्कामा अवस्थित मन्दिरलाई भगवान् शिवको बासस्थान कैलाशसँग तुलना गरिँदै आएको छ। स्थानीय पूर्वीय दर्शनका जानकारहरूका अनुसार त्रेतायुगमा मिथिलाका राजा शिरध्वज जनक र द्वापर युगमा अर्जुनले यहाँ तपस्या गरेको धार्मिक विश्वास छ। यही मान्यताका कारण यस स्थानलाई ‘मधेसको कैलाश’ भनिँदै आएको हो।

भारतको देवघरस्थित वैद्यनाथ धामझैँ यस मन्दिरलाई ‘नेपालको बाबाधाम’ भनेर समेत चिनिने गरिएको छ। पूर्व–पश्चिम राजमार्गको टुटेश्वर चोकबाट करिब आठ किलोमिटर वन क्षेत्र पार गरेपछि मन्दिरमा पुग्न सकिन्छ। माण्डवीगङ्गा नदीको किनार, सघन वन, पहाडी शृङ्खला र सुगन्धित फूलहरूको वातावरणले यहाँ आउने जो–कोहीलाई आध्यात्मिक शान्तिको अनुभूति दिलाउने भक्तजनहरूको भनाइ छ।

यसअघि २०५२ सालदेखि स्थानीय पहलमा संरक्षण हुँदै आएको यस मन्दिर क्षेत्रमा पछिल्लो समय मधेस प्रदेश सरकारले पनि पूर्वाधार विकास र संरक्षणमा सहयोग पुर्‍याउँदै आएको छ। महाशिवरात्रि र बालाचतुर्दशीमा पनि यहाँ विशेष मेला लाग्ने गर्दछ।

नेपालका विभिन्न प्रदेशका साथै भारतको बिहार, झारखण्ड र उत्तर प्रदेशबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु यहाँ आउने गरेका छन्। मन्दिर वरपर सर्पहरू देखिए पनि हालसम्म सर्पदंशको कुनै घटना नघटेको मन्दिरका पुजारी सिरी रायले बताए।

स्थानीयवासीहरूका अनुसार मन्दिर क्षेत्रको थप विकास, संरक्षण र प्रचारका लागि राज्यस्तरबाट अझ व्यवस्थित पहल आवश्यक छ।