बीमा बजार सुधारका लागि कोशीमा रणनीतिक मन्थन, दाबी भुक्तानी छिटो बनाउन जोड

Breaking Nepal

मंगलबार ,असार २३ , २०८३ १२:३९

विराटनगर / नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले बीमा बजारलाई थप व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यसहित जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूसँग विराटनगरमा ‘राउन्ड टेबल’ छलफल सम्पन्न गरेको छ ।

छलफलमा बीमा बजार सुधार, सेवाको गुणस्तर अभिवृद्धि तथा आगामी आर्थिक वर्षका प्राथमिकता र रणनीतिका विषयमा व्यापक समीक्षा गरिएको थियो । कार्यक्रममा चालु आर्थिक वर्षमा कोशी प्रदेशमा बीमा क्षेत्रले हासिल गरेका उपलब्धि, देखिएका चुनौती तथा सुधारका सम्भावित उपायबारे सहभागीहरूले धारणा राखेका थिए ।

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका कार्यालय प्रमुख तथा उपनिर्देशक प्रीति देवले छलफलको पहिलो सत्रमा चालु आर्थिक वर्षभरि विभिन्न सरोकारवालासँग सञ्चालन गरिएका अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझाव, प्रश्न, जिज्ञासा तथा जनगुनासोको समीक्षा प्रस्तुत गरेकी थिइन् । बीमा सेवाप्रति सर्वसाधारणमा कायम रहेका अन्योल, सेवाप्रवाहका व्यावहारिक समस्या तथा बजारमा देखिएका चुनौती समाधानमा बीमा कम्पनीहरूको भूमिका थप प्रभावकारी हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

छलफलमा आगामी आर्थिक वर्षका लागि बीमाको पहुँच विस्तार, सेवा गुणस्तर सुधार, बजारलाई प्रतिस्पर्धी, व्यवस्थित र पारदर्शी बनाउने तथा दाबी भुक्तानी प्रक्रियालाई अझ छिटो, सहज र प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने साझा धारणा व्यक्त गरिएको थियो ।

सहभागीहरूले बीमा क्षेत्रप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न नियामक निकाय र बीमा कम्पनीबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै जनचेतना विस्तार, सेवामुखी कार्यशैलीको विकास तथा उत्तरदायी व्यवसायिक अभ्यासलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्राधिकरणले यस्ता छलफलबाट प्राप्त सुझावलाई आगामी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा समेट्दै बीमा क्षेत्रलाई थप विश्वसनीय, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा उपयोग गर्ने जनाएको छ ।