नार्कका नयाँ वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशन: परिणाममुखी काम गरे नेतृत्वको अवसर

Breaking Nepal

बुधबार ,असार २४ , २०८३ १६:०९

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा नियुक्त नयाँ वैज्ञानिकहरूले परिणाममुखी अनुसन्धान र नवप्रवर्तनमार्फत कृषि क्षेत्रको रूपान्तरणमा निर्णायक भूमिका खेल्नुपर्ने बताएकी छन्।

नार्कले आयोजना गरेको नवनियुक्त वैज्ञानिकहरूको पाँचदिने अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्र अझै संरचनागत समस्या, कमजोर अनुसन्धान प्रणाली र कार्यान्वयन चुनौतीबाट गुज्रिरहेको उल्लेख गरिन्। यस्तो अवस्थामा वैज्ञानिकहरूको सक्रियता, इमानदारी र नतिजामुखी कार्यशैलीले मात्र संस्थागत सुधार सम्भव हुने उनको भनाइ थियो।

उनले विगत केही वर्षदेखि नार्क आन्तरिक जटिलता र व्यवस्थापकीय समस्याका कारण अपेक्षित भूमिकामा प्रभावकारी हुन नसकेको उल्लेख गर्दै परिषद्ले अब स्पष्ट कार्यदिशा तय गर्नुपर्ने आवश्यकता औँल्याइन्।

‘नेपालको आर्थिक तथा विकासको आधार कृषि हो। कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि अनुसन्धानलाई प्रभावकारी बनाउन वैज्ञानिकहरूको भूमिका निर्णायक हुन्छ,’ उनले भनिन्।

मन्त्री चौधरीले कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमताका आधारमा वैज्ञानिकहरूलाई अवसर प्रदान गरिने स्पष्ट पार्दै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँग नार्कको सहकार्यलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिइन्। इमानदार, मेहनती र नतिजामुखी रूपमा काम गर्ने वैज्ञानिकहरूले भविष्यमा परिषद्को नेतृत्व गर्ने अवसर पाउने उनको भनाइ थियो।

कार्यक्रममा नार्कका कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले योजना, अनुगमन, प्रशासनिक व्यवस्थापन, आर्थिक अनुशासन तथा अनुसन्धान प्रणालीका विषयमा पाँच दिनसम्म अभिमुखीकरण सञ्चालन हुने जानकारी दिए।

उनले वैज्ञानिकहरूले किसानसँग रहेको व्यावहारिक अनुभवलाई आधुनिक वैज्ञानिक ज्ञानसँग जोडेर कृषि क्षेत्रमा नवप्रवर्तन र प्रविधि विकासमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए।

नार्कले हालै नियुक्त ४४ वरिष्ठ वैज्ञानिक र २७ वैज्ञानिकका लागि पाँचदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।