Breaking Nepal

विराटनगर / विराटनगर महानगरपालिका–१८ भेडियारीमा लागूऔषध गाँजा बोकेको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोक्न खोज्दा चालक फरार हुने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका छन् । घटनापछि संयुक्त सुरक्षा टोलीले खोजी अभियान तीव्र बनाएको छ भने मोटरसाइकलमा पछाडि सवार भारतीय नागरिकलाई गाँजासहित पक्राउ गरिएको छ ।
मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार बुधबार बिहान करिब ८ः५० बजे अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएको टोलीले दुई जना सवार रहेको बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा रोक्न खोजेको थियो। त्यसक्रममा चालक मोटरसाइकल त्यहीँ छाडेर भागेका थिए ।
प्रारम्भिक अनुसन्धानअनुसार फरार हुने क्रममा विराटनगर–१८ निवासी मञ्जितकुमार यादव स्थानीय भेडियारी पोखरीमा डुबेर बेपत्ता भएका हुन् । उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा यादवका आफन्तहरू भेला भई तनावपूर्ण अवस्था सिर्जना भएपछि इलाका प्रहरी कार्यालय रानी तथा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट जहदा–भुटाहाबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले खोजी अभियानसँगै स्थानीय अवस्था सामान्य बनाउनसमेत पहल गरिरहेका छन् ।
यता मोटरसाइकलमा पछाडि सवार भारतको सुपौल जिल्ला, गनौरा पञ्चायत–५ निवासी ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले बोकेको झोला जाँच गर्ने क्रममा लुकाइछिपाइ राखिएको ६ किलो १३० ग्राम गाँजा बरामद भएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
बरामद गाँजा, भारतीय नम्बर प्लेटको मोटरसाइकल तथा पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उता बेपत्ता चालकको खोजी कार्य भने निरन्तर जारी रहेको छ ।