Breaking Nepal

विराटनगर / महिला उद्यमीको वित्तीय ज्ञान अभिवृद्धि, डिजिटल वित्तीय सेवामा पहुँच विस्तार र आर्थिक सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले मोरङ उद्योग व्यापार संघको महिला उद्यम समिति र ईसेवा लिमिटेडको संयुक्त आयोजनामा विराटनगरमा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ ।
विराटनगरस्थित रत्न होटेलमा आयोजित तालिममा विराटनगर महानगरपालिका, बुढीगंगा, ग्रामथान र कटहरी गाउँपालिकाका विभिन्न संघ–संस्था तथा समितिसँग आबद्ध महिला उद्यमीको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालस्थित स्विस दूतावासका प्रथम सचिव शिशिल रिभियर प्रमुख अतिथि, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह विशिष्ट अतिथि तथा स्विस दूतावासका इनोभेसन तथा डिजिटलाइजेसन कार्यक्रम अधिकृत स्नेहा भट्टराई अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको अध्यक्षता मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिकी संयोजक श्रुति शर्मा र ईसेवा लिमिटेडको सीईओ ट्रान्सफर्मेसन कार्यालयका प्रमुख सुमन खरेलले गरेका थिए ।
उद्घाटन सत्रमा सुमन खरेलले वित्तीय समावेशीकरणलाई प्रभावकारी बनाउन निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए । वित्तीय साक्षरताले उद्यमशीलताको विकाससँगै आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने उल्लेख गर्दै उनले डिजिटल युगमा महिला उद्यमीका लागि वित्तीय ज्ञान र डिजिटल सेवाको सुरक्षित प्रयोग अपरिहार्य बनेको धारणा राखे। ईसेवामार्फत उपलब्ध डिजिटल सेवाले व्यवसाय सञ्चालनलाई अझ सहज, सुरक्षित र प्रभावकारी बनाउने उनले बताए ।
विशिष्ट अतिथि अनिलकुमार साहले डिजिटल अर्थतन्त्रको विस्तारसँगै महिला उद्यमीका लागि डिजिटल वित्तीय साक्षरता अत्यावश्यक बन्दै गएको बताए । तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर व्यवसायलाई थप प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन सकिने उनको भनाइ थियो । उनले डिजिटल वित्तीय सेवालाई अझ सुरक्षित, सहज र विश्वसनीय बनाउन सेवा प्रदायकले निरन्तर सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
तालिममा ईसेवा लिमिटेडका प्रदेश इन्चार्ज झलक सुब्बाले वित्तीय साक्षरताको महत्व, डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग, बचत तथा लगानी संस्कृतिको विकासलगायत विषयमा प्रस्तुति दिएका थिए। कार्यक्रमको सहजीकरण ईसेवाका सोसल इम्प्याक्ट म्यानेजर उदितचन्द्र अर्यालले गरेका थिए ।
सहभागीलाई बैंक तथा वित्तीय संस्थाका सेवा, विभिन्न वित्तीय उत्पादन, डिजिटल वालेट, रेमिट्यान्स सेवा, सामाजिक सुरक्षा कोष, बीमा, सुरक्षित डिजिटल कारोबार, साइबर ठगीबाट जोगिने उपाय तथा साना तथा मझौला उद्यमका सम्भावित लगानी क्षेत्रबारे व्यवहारिक जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ ।
समापनका क्रममा श्रुति शर्माले यस्ता तालिमले महिला उद्यमीको वित्तीय क्षमता, निर्णय क्षमता र डिजिटल वित्तीय सेवाको प्रभावकारी प्रयोगमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। महिला उद्यमीको क्षमता विकासका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाइन् ।
आयोजकका अनुसार तालिमले महिला उद्यमीको वित्तीय समावेशिता, डिजिटल वित्तीय सेवामा पहुँच र समग्र आर्थिक गतिविधिमा सक्रिय सहभागिता विस्तार गर्न सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।