सीमा सुरक्षामा नागरिक सहभागिता बढाउन मोरङमा सशस्त्र प्रहरीको प्रत्यक्ष संवाद

Breaking Nepal

आइतबार ,असार २८ , २०८३ १७:०७

विराटनगर /  सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बलले मोरङका सीमावर्ती क्षेत्रमा स्थानीयसँग प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममार्फत सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकका समस्या, गुनासा तथा समाधानका उपायबारे छलफल गरिएको छ ।

विराटनगर महानगरपालिका–१६ दरैयास्थित मुसहरी बस्ती नजिक सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह बाहिनी, पकली सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापाको नेतृत्वमा ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ आयोजना गरिएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारी, सीमा सुरक्षा गुल्म रानीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर खड्का, बीओपी दरैयाका सशस्त्र प्रहरी निरीक्षक शंकर कोइरालालगायतको सहभागिता रहेको थियो ।

स्थानीय बासिन्दा तथा भद्रभलादमीसँग भएको अन्तरक्रियामा सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती, आवतजावत, तस्करी नियन्त्रण, नागरिकका गुनासा तथा समाधानका सम्भावित उपायबारे छलफल गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसै क्रममा जहदा गाउँपालिका–१ भुटाहा तथा विराटनगरको इस्लामपुर क्षेत्रमा पनि स्थानीयको सहभागितामा यस्तै कार्यक्रम सञ्चालन गरिएको थियो । सशस्त्र प्रहरीले सीमा सुरक्षामा स्थानीय समुदायको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

कार्यक्रमपछि डीआईजी थापाले दरैया क्षेत्रका सीमा सुरक्षा पोस्ट तथा सशस्त्र प्रहरीको ड्युटी व्यवस्थाको स्थलगत अनुगमन गरेका थिए । अनुगमनका क्रममा सीमा निगरानीलाई थप प्रभावकारी बनाउन तथा सुरक्षा सतर्कता उच्च राख्न आवश्यक निर्देशन दिएका थिए ।

त्यसपछि उनले विराटनगर महानगरपालिका–१२ बखरीस्थित मनसुन प्रतिकार्य सुरक्षा बेसको निरीक्षण गर्दै विपद् उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखिएका उपकरण र सामग्रीको अवस्थाबारे जानकारी लिएका थिए । मनसुनका बेला बाढी, डुबान र अन्य प्राकृतिक विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले उद्धार टोलीलाई चौबिसै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।