भानुजयन्तीमा झापामा साहित्यिक बहस, भानुभक्तको सिर्जना आज पनि उत्तिकै सान्दर्भिक

Breaking Nepal

आइतबार ,असार २८ , २०८३ १६:३३

झापा / आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा नेपाली लेखक सङ्घ कोशी प्रदेशले झापाको विर्तामोडमा विशेष साहित्यिक सभा आयोजना गर्दै भानुभक्तको साहित्यिक योगदान र समकालीन सान्दर्भिकतामाथि गहन विमर्श गरेको छ ।

गीतकार तथा संगीतकार शिवशङ्कर थापाको प्रमुख आतिथ्य र नेपाली लेखक सङ्घ कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि विवश पोखरेलले ‘कवि भानुभक्तको कवितामा वर्तमान सान्दर्भिकता’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथि प्रगतिशील लेखक सङ्घ झापाका अध्यक्ष लीला अधिकारी, लेखक सङ्घ कोशी प्रदेशका सल्लाहकार कवि केशव आचार्य तथा साहित्यकारहरू पुण्य खरेल, सुभद्रा भट्टराई र केशु विरहीले भानुभक्तको काव्यदृष्टि, भाषिक योगदान र वर्तमान समाजमा उनको साहित्यको प्रासङ्गिकताबारे आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा लेखक सङ्घ झापाका अध्यक्ष दयानन्द गोस्वामीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । समारोहको संयोजन लेखक सङ्घ कोशी प्रदेशकी उपाध्यक्ष लता खरेलले गरेकी थिइन् भने सञ्चालन लता खरेल र जिल्ला समिति सचिव समिरबाबु कट्टेलले संयुक्त रूपमा गरेका थिए ।

समारोहमा प्राज्ञ मुनराज शेरमा, इन्द्रप्रसाद ओली, कुमार भट्टराई, कृष्ण बराललगायत कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमअन्तर्गत आयोजित कविगोष्ठीमा बाबुराम पोखरेल, विरही अधिकारी, मञ्जुश्री गिरी, लक्ष्मी रायमाझी, प्रयाग न्यौपाने, उमेश लुइँटेल, अर्जुन नेपाल, बासु पोखरेल, हेमसागर पोखरेल, विवश बलिभद्र कोइराला, सफलता खरेललगायत ३९ जना स्रष्टाले आ–आफ्ना कविता वाचन गरेका थिए ।

त्यसैगरी, खुशी सुवेदी, निरज पोखरेल र सफलता खरेलले गीत प्रस्तुत गर्दै कार्यक्रमलाई सांगीतिक आयाम दिएका थिए ।

आयोजकका अनुसार भानुभक्तको साहित्यिक योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने, नेपाली भाषा–साहित्यप्रतिको आकर्षण अभिवृद्धि गर्ने तथा सिर्जनशील बहसलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।