Breaking Nepal

विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल (बीएमसीटीएच) मा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ। न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव, प्रविधि र उपचार पद्धतिबारे ज्ञान आदानप्रदान गर्ने उद्देश्यले आयोजित सम्मेलनमा स्वदेश तथा विदेशका विशेषज्ञ चिकित्सकको उल्लेखनीय सहभागिता रहेको थियो ।
न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजित ‘इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन–बीएमसीटीएच’ अस्पतालको सेन्ट्रल हलमा सम्पन्न भएको हो । ‘इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो’ भन्ने नारासहित आयोजित सम्मेलनमा मोलिक्युलर इमेजिङ, थेरानोस्टिक्स, रेडियोआइसोटोप थेरापी तथा क्यान्सर उपचारमा प्रयोग भइरहेका अत्याधुनिक प्रविधि र अनुसन्धानमाथि विस्तृत छलफल गरिएको थियो ।
सम्मेलनमा बंगलादेशका प्रा. डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा. डा. सनोवार हुसैन, प्रा. डा. फारिया नर्सिन र प्रा. डा. जास्मिन आरा हक सहभागी भए । भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरका प्रा. डा. मनोज गुप्ताले पनि आफ्नो प्रस्तुति दिएका थिए। नेपालबाट बीएमसीटीएचका डा. अमरदीप चौधरीसहित डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसीले कार्यपत्र प्रस्तुत गर्दै न्यूक्लियर मेडिसिन सेवाको अनुभव र सम्भावनाबारे धारणा राखेका थिए ।
विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना गरेको छ । क्यान्सर उपचारका लागि आवश्यक हाइपेक (एचआईपीईसी) सेवा पनि पूर्वमै पहिलोपटक यही अस्पतालबाट सञ्चालनमा ल्याइएको छ ।
न्यूक्लियर मेडिसिन रेडियोधर्मी पदार्थको प्रयोगमार्फत शरीरका आन्तरिक अंगको कार्यप्रणाली परीक्षण तथा उपचार गर्ने आधुनिक चिकित्सा विधि हो । यसबाट क्यान्सरको प्रारम्भिक पहिचान, रोगको फैलावट मूल्याङ्कन, हृदयको रक्तप्रवाह परीक्षण, हड्डीसम्बन्धी रोग तथा थाइरोइड समस्याको निदान प्रभावकारी रूपमा गर्न सकिन्छ ।
अस्पतालका अनुसार सम्मेलनले पूर्वी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अन्तर्राष्ट्रिय विशेषज्ञसँग प्रत्यक्ष अनुभव साटासाट गर्ने अवसर प्रदान गरेको छ । यसबाट अत्याधुनिक उपचार प्रविधि स्थानीय स्तरमै विस्तार हुने, उपचार सेवाको गुणस्तर सुधार हुने तथा क्यान्सरलगायत जटिल रोगका बिरामीलाई काठमाडौं वा विदेश जानुपर्ने बाध्यता क्रमशः कम हुने अपेक्षा गरिएको छ । साथै अन्तर्राष्ट्रिय सहकार्य, जटिल बिरामी व्यवस्थापन र रेफरल प्रणालीलाई समेत थप प्रभावकारी बनाउन सम्मेलनले योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
सम्मेलनमा काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, मोरङलगायत विभिन्न जिल्लाबाट करिब ३०० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित क्षेत्रका विज्ञ सहभागी भएका थिए ।
हाल अस्पतालको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागबाट क्यान्सरको प्रारम्भिक निदान, रोगको फैलावट मूल्याङ्कन, हृदयको रक्तप्रवाह परीक्षण, हड्डी तथा संक्रमणजन्य रोगको पहिचान, मिर्गौला, कलेजो र फोक्सोको कार्यक्षमता परीक्षण तथा थाइरोइडसम्बन्धी रोगको निदान सेवा उपलब्ध छ ।
उपचारतर्फ रेडियोएक्टिभ आयोडिनमार्फत थाइरोइड क्यान्सरको उपचार, हड्डीको पीडा कम गर्ने रेडियोन्यूक्लाइड थेरापी, न्यूरोएन्डोक्राइन ट्युमरको लक्षित उपचार तथा रेडियोसिनोभेक्टोमीजस्ता अत्याधुनिक सेवा सञ्चालनमा रहेको अस्पतालले जनाएको छ। यी सेवाले जटिल रोगको उपचारलाई थप प्रभावकारी, सुरक्षित र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।
सम्मेलनकै अवसरमा न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग र न्यूरो साइन्स विभागका लागि निर्माण गरिएको छुट्टै भवनको पनि उद्घाटन गरिएको छ ।