Breaking Nepal

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटसँग सम्बन्धित विवाद समाधानका लागि गठित कार्यदलको प्रतिवेदन प्रस्तुत गर्दै प्रदेशसभाले बजेटमाथिको औपचारिक छलफल अघि बढाउने तयारी गरेको हो।
प्रदेशसभा सचिवालयका अनुसार बैठकमा कार्यदलले बजेटसम्बन्धी विवाद समाधानका लागि तयार पारेको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। प्रतिवेदनमाथिको छलफल टुंगिएपछि आगामी आवको विनियोजन विधेयकमाथि दफावार छलफल सुरु हुनेछ।
प्रदेशसभाले असार २८ गते बसेको बैठकबाट बजेटमा देखिएका असहमति र विवाद समाधान गर्न सात सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा उपेन्द्र महतो, हरिनारायण महतो, जङ्गीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, विमला अन्सारी तरुण र सरिताकुमारी ठाकुर सदस्य रहेका छन्।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा कृषि नवप्रवर्तन, उद्यमशीलता विकास, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि उठेका असहमति समाधानका लागि गठित कार्यदलको प्रतिवेदनपछि बजेट पारित प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ।