Breaking Nepal

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल बिमा प्राधिकरणसँग बिमा क्षेत्रको नियमन, जोखिम व्यवस्थापन तथा सरकारी स्वामित्वका बिमा संस्थाको कार्यसम्पादनबारे विस्तृत जानकारी लिएको छ।
सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा आर्थिक वर्ष २०८२/०८३ मा बिमा प्राधिकरणले गरेका प्रमुख नीतिगत तथा नियामकीय गतिविधि, बिमा क्षेत्रका चुनौती र सुधारका प्रयासबारे छलफल भएको हो।
बैठकमा बिमितको हित संरक्षण, बिमा व्यवसायमा देखिएका जोखिम न्यूनीकरणका उपाय, नियामकीय प्रभावकारिता तथा नेपाल सरकारको स्वामित्वमा रहेका बिमा संस्थान र बिमा कम्पनीहरूको पछिल्ला तीन वर्षको कार्यसम्पादन अवस्थाबारे प्राधिकरणले समितिलाई जानकारी गराएको थियो।
सांसदहरूले बिमा क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउने, सेवामा पारदर्शिता बढाउने र संस्थागत सुधारलाई तीव्रता दिने विषयमा विभिन्न सुझाव दिएका थिए।
अर्थ समितिका सचिव लक्ष्मण अर्यालका अनुसार बैठकमा उठेका विषय, सांसदका धारणा तथा छलफलका निष्कर्ष समेटिएको विस्तृत प्रतिवेदन तयार गरी १० दिनभित्र समितिमा पेश गर्न समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले निर्देशन दिएका छन्।
समितिले बिमा क्षेत्रको सुशासन, वित्तीय स्थायित्व र सेवाको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक नीतिगत सुधारमा निरन्तर निगरानी र सहजीकरण गर्ने संकेत दिएको छ।