Breaking Nepal

विराटनगर / मेरुदण्ड (स्पाइन) सम्बन्धी रोगहरूको उपचारलाई थप आधुनिक, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यसहित विराटनगरस्थित आर्या न्युरोले एन्डोस्कोपिक (दुर्बिन) प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पतालका अनुसार अत्याधुनिक एन्डोस्कोपिक प्रविधिमार्फत विशेष क्यामेरा र सूक्ष्म शल्य उपकरणको प्रयोग गरी सानो चिराबाट मेरुदण्डको शल्यक्रिया गर्न सकिनेछ । परम्परागत खुला शल्यक्रियाको तुलनामा यस विधिबाट बिरामीले कम पीडा, न्यून रक्तस्राव, संक्रमणको कम जोखिम तथा छिटो स्वास्थ्य लाभ प्राप्त गर्ने विश्वास अस्पतालले व्यक्त गरेको छ ।
चर्चित न्यूरो सर्जनसमेत रहेका अस्पतालका प्रबन्ध निर्देशक डा. पंकज नेपालका अनुसार डिस्क खस्किने (स्लिप्ड डिस्क), साइटिका, नसामा दबाब पर्ने समस्या तथा मेरुदण्डसँग सम्बन्धित विभिन्न जटिल रोगहरूको उपचारमा एन्डोस्कोपिक स्पाइन सर्जरी प्रभावकारी विकल्पका रूपमा विश्वभर प्रयोग हुँदै आएको छ । यस प्रविधिबाट शल्यक्रियापछि अस्पतालमा बस्नुपर्ने अवधि छोटिने र बिरामी छिट्टै दैनिक जीवन तथा कार्यक्षेत्रमा फर्किन सक्ने डा. नेपालको भनाइ छ ।
प्रबन्ध निर्देशक डा. नेपालले अत्याधुनिक प्रविधिको विस्तारसँगै कोशी प्रदेशसहित देशभरका बिरामीले अब गुणस्तरीय स्पाइन उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता क्रमशः कम हुने बताए ।
‘एन्डोस्कोपिक स्पाइन सर्जरी सेवा सुरु भएसँगै मेरुदण्डका बिरामीले कम पीडादायी, सुरक्षित र प्रभावकारी उपचार सहज रूपमा प्राप्त गर्नेछन्,’ उनले भने, ‘हाम्रो लक्ष्य बिरामीलाई अन्तर्राष्ट्रियस्तरको सेवा आफ्नै प्रदेशबाट उपलब्ध गराउनु हो । आधुनिक प्रविधिमा निरन्तर लगानी गर्दै उपचारलाई अझ सहज र गुणस्तरीय बनाउने दिशामा हामी अघि बढिरहेका छौं ।’
अस्पतालका सञ्चालक दिनेश ठाकुरले स्वास्थ्य सेवामा नवीनतम प्रविधिको विस्तारलाई संस्थाको प्राथमिकतामा राखिएको बताए ।
‘आर्या न्युरोले प्रविधि, दक्ष जनशक्ति र गुणस्तरीय उपचार सेवाको समन्वयमार्फत न्युरो तथा स्पाइन उपचारलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको छ,’ उनले भने, ‘बिरामीलाई विश्वसनीय, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्दै प्रदेशमै विशिष्टीकृत उपचार केन्द्रका रूपमा स्थापित हुने हाम्रो दीर्घकालीन योजना छ ।’
अस्पतालका अनुसार एन्डोस्कोपिक स्पाइन सर्जरी सेवा सञ्चालनसँगै प्रदेश तथा देशभरका बिरामीलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसारको उपचार सेवा उपलब्ध गराउने आधार थप बलियो भएको छ । आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा नवीनतम प्रविधि भित्र्याउँदै विशेषज्ञ सेवाको दायरा विस्तार गर्ने अस्पतालको योजना रहेको डा. नेपालले बताए ।