साउनदेखि लाइसेन्स आवेदन, नवीकरण र राजस्व भुक्तानी पूर्ण रूपमा अनलाइन

Breaking Nepal

शुक्रबार ,साउन १ , २०८३ १२:१२

काठमाडौं। सवारी चालक अनुमति पत्र (इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) को आवेदन, नवीकरण तथा राजस्व भुक्तानी प्रक्रिया आगामी साउन १ गतेदेखि अनलाइनमार्फत हुने भएको छ।

यातायात व्यवस्था विभागले सेवाप्रवाहलाई थप सहज, छरितो र प्रविधिमैत्री बनाउन २०८३ साउन १ देखि नयाँ प्रणाली लागू गर्न लागेको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार लाइसेन्सका लागि अनलाइन फारम भर्दा राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी अटोफिल सुविधामार्फत व्यक्तिगत विवरण स्वतः भर्न सकिनेछ। यसले फारम भर्ने समय घट्नुका साथै विवरण प्रविष्टिमा हुने त्रुटि पनि कम हुने विभागको अपेक्षा छ।

राष्ट्रिय परिचयपत्र वा नागरिक एप प्रयोग नगर्ने सेवाग्राहीका हकमा भने हाल कायम रहेको प्रक्रियाअनुसार नै फारम भर्न सकिने व्यवस्था यथावत् रहनेछ।

विभागले लाइसेन्ससम्बन्धी राजस्व पनि अब अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ। यसबाट सेवाग्राहीले कार्यालयमा पुगेर राजस्व तिर्नुपर्ने झन्झटबाट समेत राहत पाउने अपेक्षा गरिएको छ।

सेवा सञ्चालनका क्रममा कुनै समस्या, गुनासो वा सुझाव भए विभागको आधिकारिक इमेलमार्फत जानकारी गराउन पनि विभागले आग्रह गरेको छ।