Breaking Nepal

काठमाडौं– डेंगु संक्रमणको जोखिम बढ्ने मौसमलाई लक्षित गर्दै सरकारले शुक्रबारदेखि देशभर तीन महिने डेंगु सचेतना तथा नियन्त्रण अभियान सुरु गरेको छ। साउन, भदौ र असोज महिनाभर सञ्चालन हुने अभियानमार्फत स्थानीय तहदेखि समुदायसम्म सरसफाइ र लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने कार्यलाई प्राथमिकता दिइने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिँदै आवश्यक समन्वय र कार्यान्वयनमा जुट्न आग्रह गरेका छन्।
अभियानको मुख्य कार्यक्रमका रूपमा प्रत्येक हप्ता ‘हरेक शुक्रबार, सफा शुक्रबार’ सञ्चालन गरिनेछ। यसअन्तर्गत सरकारी कार्यालय, सार्वजनिक निकाय, विद्यालय तथा सामुदायिक संस्थाले आफ्नो परिसरमा लामखुट्टेको प्रजननस्थल र वासस्थान खोजी गरी नष्ट गर्नेछन्।
स्थानीय तहको नेतृत्वमा वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संघसंस्था तथा अन्य सरोकारवाला निकायबीच समन्वय गर्दै अभियान अघि बढाइने मन्त्रालयले जनाएको छ।
स्थानीय तहलाई हरेक हप्ता कम्तीमा एक दिन समुदायको सक्रिय सहभागितामा ‘लामखुट्टेको प्रजननस्थल तथा वासस्थान खोज र नष्ट अभियान’ सञ्चालन गर्न, डेंगु रोकथामका लागि बहुनिकाय समन्वयलाई प्रभावकारी बनाउन तथा पानी जम्ने सम्भावना रहेका स्थानको नियमित अनुगमन गर्न निर्देशन दिइएको छ।
विशेषगरी अटो वर्कसप, ग्यारेज, कवाडी सामग्री संकलन तथा व्यवस्थापन स्थल, निर्माणाधीन भवन र अन्य खुला स्थानमा पानी जम्न नदिने व्यवस्था मिलाउन तथा नियमित रूपमा पानीको निकास व्यवस्थापन गर्न स्थानीय तहलाई आग्रह गरिएको छ।
सरकारले वर्षायाममा डेंगु संक्रमण तीव्र रूपमा फैलिने जोखिम रहने भएकाले समुदायस्तरमै सरसफाइ, जनचेतना र स्रोत नियन्त्रणका गतिविधि प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको जनाएको छ।