हङकङमा लडेर शेरबहादुर देउवाको हात भाँचियो

Breaking Nepal

शुक्रबार ,साउन १ , २०८३ १५:५९

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा दुर्घटनामा परी घाइते भएका छन्। केही दिनअघि आफू बसिरहेको आवासको बाथरुममा लड्दा उनको दायाँ हात भाँचिएको पारिवारिक स्रोतले जनाएको छ।

दुर्घटनापछि उनलाई तत्काल स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। आवश्यक उपचारपछि हातमा प्लास्टर गरिएको छ भने अस्पतालबाट डिस्चार्ज भइसकेका देउवा चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेका छन्।

देउवा थप स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका थिए। त्यहाँको उपचार पूरा गरेपछि चैत ७ गते हङकङ पुगेका उनी हाल पनि त्यहीँ बस्दै आएका छन्।

पछिल्ला केही सातायता देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग हङकङका विभिन्न स्थानमा घुमफिर गरिरहेका भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक हुँदै आएका थिए।

पारिवारिक स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ र चिकित्सकले केही समय आराम गर्न सुझाव दिएका छन्।