Breaking Nepal

झापा / भारत–नेपाल सीमास्थित नयाँ मेची पुलमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ९ लाख ७४ हजार भारतीय रुपैयाँ, एउटा कार तथा दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि भन्सार कार्यालयलाई बुझाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार दिउँसो करिब ४ः२५ बजे पानीट्याङ्कीस्थित नयाँ मेची पुलमा नियमित सुरक्षा जाँचका क्रममा सीमा गुप्तचर टोली (बीआईटी) ले भारतबाट नेपालतर्फ आउँदै गरेको एसके–०१ एबी–९४६५ नम्बरको महिन्द्रा एक्सयूभी–३०० रोकेको थियो।
गाडीको सूक्ष्म जाँच गर्दा चालकको सिटमुनि तथा अन्य गोप्य स्थानमा लुकाएर राखिएको ९ लाख ७४ हजार भारतीय रुपैयाँ बरामद भएको जनाइएको छ।
पक्राउ परेका ४९ वर्षीय चालक जीवन विश्वकर्माले बरामदमध्ये ५ लाख २४ हजार भारतीय रुपैयाँ आफ्नो भएको दाबी गरेका छन्। उनले उक्त रकम सासुको उपचारका लागि नेपाल ल्याउँदै गरेको बयान दिएका छन्। त्यस्तै, सँगै रहेका २५ वर्षीय राहुल नेपालले बाँकी ४ लाख ५० हजार भारतीय रुपैयाँ आफ्नो भएको उल्लेख गर्दै नेपाल भ्रमणका लागि रकम बोकेको दाबी गरेका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जना सिक्किमको गान्तोकस्थित ट्रु भ्याली क्षेत्रमा चारपाङ्ग्रे सवारीसाधन खरिद–बिक्री व्यवसायमा संलग्न रहेको खुलेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। उनीहरूले प्रयोग गरिएको गाडी ग्राहकको भएको पनि बताएका छन्।
तर, बरामद रकमको वैधानिक स्रोत, नेपाल ल्याउनुपर्ने उद्देश्य तथा आवश्यक कागजात माग्दा उनीहरूले विश्वसनीय प्रमाण पेश गर्न नसकेको एसएसबीको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
बरामद गरिएको भारतीय मुद्रा, महिन्द्रा एक्सयूभी–३०० र नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि पानीट्याङ्की भन्सार कार्यालयको जिम्मा लगाइएको छ।