Breaking Nepal

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज दिनभर तथा राति पनि अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले देशका अधिकांश क्षेत्रमा यसको प्रभाव देखिएको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती, गण्डकी, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
रातिको समयमा पनि वर्षाको क्रम जारी रहने पूर्वानुमान गरिएको छ। सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक आवागमन प्रभावित हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।