Breaking Nepal

विराटनगर । मोरङको उर्लाबारीस्थित सामुदायिक वन क्षेत्रमा प्रहरीले भरुवा बन्दुकसहित विस्फोटक बनाउन प्रयोग हुने सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा सामुदायिक वनमा मंगलबार राति करिब ९ बजे विशेष सूचनाका आधारमा गरिएको गस्तीका क्रममा बेवारिसे अवस्थामा लुकाइराखिएको भरुवा बन्दुक र विस्फोटक सामग्री फेला परेको हो।
प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उक्त क्षेत्रमा चोरी सिकारी हुने गरेको सूचनापछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट विशेष टोली परिचालन गरिएको थियो। वन क्षेत्रमा खोजतलास गर्ने क्रममा जंगलभित्र रातो प्लास्टिकको बोराभित्र लुकाइछिपाइ राखिएको भरुवा बन्दुक तथा विस्फोटक पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामग्री कसले र किन त्यहाँ राखेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। साथै, घटनामा संलग्न व्यक्तिको पहिचान र खोजी कार्यसमेत अघि बढाइएको छ।