आर्थिक सुस्तीबीच जनकपुर राजस्व कार्यालयले उठायो ६ अर्बभन्दा बढी राजस्व

Breaking Nepal

बुधबार ,साउन ६ , २०८३ १६:२७

जनकपुरधाम । बजारमा आर्थिक गतिविधि सुस्त रहे पनि आन्तरिक राजस्व कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ६ करोड ७८ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो वार्षिक लक्ष्यको ८८.४९ प्रतिशत हो।

कार्यालय प्रमुख आनन्दकुमार गुप्ताका अनुसार पुरानो बक्यौता असुली अभियानलाई प्रभावकारी बनाउनु, बजार अनुगमन तीव्र पार्नु तथा करदातामैत्री सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु राजस्व वृद्धिका प्रमुख आधार बनेका हुन्।

संकलित राजस्वमध्ये अन्तःशुल्कबाट सबैभन्दा बढी २ अर्ब ५५ करोड ७ लाख ३० हजार रुपैयाँ उठेको छ। त्यसपछि आयकरबाट २ अर्ब ६ करोड ८२ लाख १ हजार र मूल्य अभिवृद्धि कर (भ्याट) बाट १ अर्ब २८ करोड ४० लाख ९९ हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ।

त्यस्तै, ब्याज करबाट ७ करोड ७८ लाख ३ हजार, बहाल करबाट ५ करोड २५ लाख ३७ हजार, स्वास्थ्य जोखिम करबाट ४ लाख ३१ हजार तथा अन्य शीर्षकबाट ३ करोड ४० लाख ८७ हजार रुपैयाँ राजस्व उठेको छ।

कार्यालयले आव २०८२/८३ का लागि ६ अर्ब ८५ करोड ७२ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। लक्ष्य पूर्ण रूपमा हासिल हुन नसके पनि आर्थिक सुस्तीका बीच उल्लेखनीय संकलन भएको कार्यालयको भनाइ छ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा ४ अर्ब ९० करोड रुपैयाँ उठाएर लक्ष्य पार गरेको थियो।

हाल कार्यालयमा व्यक्तिगत तथा व्यावसायिक गरी १ लाख ७३ हजार ९६८ करदाता दर्ता छन्। करदाताको घरमै पुगेर ताकेता गर्ने, टेलिफोन र एसएमएसमार्फत कर बुझाउन आग्रह गर्ने तथा कर छुट र सहुलियतबारे जानकारी दिने अभियान सञ्चालन गरेपछि १० करोड रुपैयाँभन्दा बढी पुरानो बक्यौता असुल गर्न सफल भएको कार्यालयले जनाएको छ।