Breaking Nepal

विराटनगर / इलाका प्रहरी कार्यालय रानीले अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण नियन्त्रण गर्ने अभियानलाई तीव्र बनाउँदै करिब ५०० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
प्रहरीले विराटनगरका दरैया, इस्लामपुर, मटेरुवा, दक्षिण गेटलगायत आसपासका क्षेत्रमा सञ्चालन गरेको विशेष निगरानी तथा खोजतलास अभियानका क्रममा उक्त परिमाणको घरेलु मदिरा बरामद गरेको जनाएको छ । बरामद मदिरा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार अवैध रूपमा घरेलु मदिरा उत्पादन, ओसारपसार तथा बिक्री–वितरण गर्ने गतिविधि नियन्त्रणका लागि नियमित निगरानीसँगै विशेष अभियान सञ्चालन हुँदै आएको छ । यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत प्रहरीले दिएको छ ।
इलाका प्रहरी कार्यालय रानीले सार्वजनिक शान्ति–सुरक्षा कायम राख्न, अवैध कारोबार नियन्त्रण गर्न तथा कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ ।