विराटनगरमा आत्मदाहको प्रयास असफल, प्रहरीले समयमै हस्तक्षेप गर्दा जोगियो युवाको ज्यान

Breaking Nepal

बुधबार ,साउन ६ , २०८३ १९:४५

विराटनगर / पारिवारिक विवादका कारण विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय सञ्जीव झाले विराटनगर महानगरपालिका–१३ स्थित डेरामा शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका थिए । उनी हाल विराटनगर–१३ मा भाडामा बस्दै आएका थिए ।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बुधबार अपराह्न घटनाबारे सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले तत्काल पुगेर झालाई सुरक्षित नियन्त्रणमा लिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्नीसँग भएको विवादपछि आवेगमा आएर उनले आत्मदाहको प्रयास गरेको देखाएको छ । घटनास्थलबाट आगो सल्काउन प्रयोग गर्ने सलाईसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

उद्धारपछि झालाई प्रहरीको संरक्षणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार उनी भारतमा रोजगारी गर्दै आएका थिए र चार दिनअघि मात्रै विराटनगर फर्किएका थिए । उनका श्रीमती र दुई सन्तान छन् ।

प्रारम्भिक अनुसन्धानमा विगतदेखि नै परिवारभित्र बेला–बेलामा विवाद हुने गरेको खुलेको प्रहरीले जनाएको छ ।