Breaking Nepal

काठमाडौं / नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको आगामी राजनीतिक रणनीति र १५औं महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । भेलाको स्थान भने पछि सार्वजनिक गरिने जनाइएको छ ।
बीपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले देशभर सम्पन्न भएका प्रदेशस्तरीय भेलापछि अब राष्ट्रियस्तरमा कार्यकर्ता र नेताहरूलाई एकै ठाउँमा ल्याउने तयारी गरिएको जानकारी दिए ।
उनका अनुसार सातवटै प्रदेशमा छलफल सम्पन्न भइसकेको र अब राष्ट्रिय भेलामार्फत आगामी राजनीतिक कार्यदिशा तय गरिनेछ । उनले प्रदेशस्तरीय छलफलबाट प्राप्त सुझाव तथा निष्कर्षलाई राष्ट्रिय भेलामा समेटेर संगठनात्मक रणनीति अघि बढाइने संकेत गरे ।
सम्बोधनका क्रममा सिंहले नेपाली कांग्रेसको १५औं महाधिवेशन पार्टीभित्रको एकतालाई सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । महाधिवेशन प्रतिस्पर्धाको मात्रै विषय नभई संगठनलाई थप मजबुत बनाउने साझा अभियान हुनुपर्ने उनको भनाइ थियो ।
कांग्रेसभित्र पछिल्ला दिनमा महाधिवेशन, नेतृत्व चयन र संगठन विस्तारलाई लिएर विभिन्न समूहबीच राजनीतिक गतिविधि बढिरहेका बेला संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा गरेसँगै आगामी दिनमा पार्टीभित्रको राजनीतिक समीकरण थप सक्रिय हुने संकेत देखिएको छ ।