Breaking Nepal

विराटनगर / मोरङका विभिन्न सीमा नाकाबाट नेपाल भित्र्याउन खोजिएका १४ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार प्रक्रिया पूरा नगरी ल्याइँदै गरेका लत्ताकपडा र हरियो तरकारी बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको हो ।
सशस्त्र प्रहरी बल मोरङका अनुसार भारतबाट तस्करी गरेर ल्याइएका सामान फरक–फरक स्थानमा सञ्चालन गरिएको निगरानीका क्रममा बरामद गरिएको हो । सीमा सुरक्षा गुल्म रानीबाट परिचालित टोलीले तीनवटा मोटरसाइकलमा ओसारपसार हुँदै गरेको १२ लाख २७ हजार ३ सय रुपैयाँ बराबरका लत्ताकपडा नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी, बीओपी दरैयाबाट परिचालित मोबाइल गस्ती टोलीले एउटा सिटी सफारीमा ल्याइँदै गरेको एक लाख ८५ हजार रुपैयाँ बराबरको हरियो तरकारी पनि बरामद गरेको छ ।
बरामद गरिएका लत्ताकपडा, हरियो तरकारी, तीनवटा मोटरसाइकल तथा सिटी सफारीको कुल मूल्य १४ लाख १२ हजार ३ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीको भनाइ छ ।
नियन्त्रणमा लिइएका सबै सामान र सवारीसाधन आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।