गौर कारागारबाट फरार कैदी करिब एक वर्षपछि पक्राउ

Breaking Nepal

शनिबार ,साउन ९ , २०८३ १७:२४

जनकपुरधाम। गत भदौमा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा रौतहटस्थित गौर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ निवासी ३० वर्षीय प्रभु माझी रहेका छन्। उनी जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय पाएपछि गौर कारागारमा कैद भुक्तान गरिरहेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार माझी गत भदौ २४ गते आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। त्यसयता गाउँमै लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त टोलीले खोजतलास गर्दा कटहरिया नगरपालिका–७ को बगही क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार पक्राउ परेका माझीलाई बाँकी कैद सजाय भुक्तानका लागि गौर कारागारमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

माझीलाई २०६८ फागुन २५ गते रौतहटको कटहरिया नगरपालिका–७ मा पाँच वर्षीया बालिकामाथि जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै सर्वोच्च अदालतले २० वर्ष कैद सजायको फैसला सदर गरेको थियो। त्यसपछि उनी गौर कारागारमा कैद भुक्तान गरिरहेका थिए।