समुदाय–प्रहरी साझेदारीबिना शान्तिपूर्ण समाज सम्भव छैन : आईजीपी कार्की

Breaking Nepal

शनिबार ,साउन ९ , २०८३ १४:५५

जनकपुरधाम। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुनको प्रभावकारी कार्यान्वयन र समुदाय–प्रहरीबीचको साझेदारी सुदृढ भए मात्र शान्तिपूर्ण र सुरक्षित समाज निर्माण सम्भव हुने बताएका छन्।

धनुषा जिल्ला प्रहरी कार्यालय परिसरमा बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको उद्घाटन गर्दै उनले सुरक्षा व्यवस्थापनमा प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गरे। समाजमा दिगो शान्ति कायम गर्न नागरिकको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित मुद्दा संवेदनशील प्रकृतिका हुने भएकाले त्यस्ता विषयलाई उच्च प्राथमिकताका साथ विशेषज्ञतापूर्ण ढंगले सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए। साथै, सबै प्रहरी कर्मचारीलाई प्रत्येक नागरिकप्रति सम्मानजनक व्यवहार गर्दै समानताको सिद्धान्तअनुसार सुरक्षा र न्याय सुनिश्चित गर्न निर्देशन दिए।

प्रहरी महानिरीक्षक कार्कीले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत नागरिकले प्रहरी कार्यालयमा उपस्थित नभई अनलाइनमार्फत उजुरी, सूचना तथा निवेदन दर्ता गर्न सक्ने व्यवस्था विस्तार गरिएको जानकारी दिए। आधुनिक प्रविधिको प्रयोगबाट प्रहरी सेवालाई थप सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने नीति कार्यान्वयनमा रहेको उनले बताए।

समाजमा विद्यमान सामाजिक कुरीति अन्त्य नगरी दिगो विकास सम्भव नहुने उल्लेख गर्दै उनले त्यस्ता विकृति हटाउन प्रहरी र समुदायबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाल प्रहरी मधेश प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले प्रदेशमा लागुऔषध दुव्र्यसन र अवैध कारोबार प्रमुख सुरक्षा चुनौतीका रूपमा रहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको बताए। उनले प्रभावकारी नियन्त्रणका लागि नागरिकको सहयोग अपरिहार्य रहेको पनि बताए।

सो अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी तथा सामाजिक अभियानमार्फत प्रहरीलाई सहयोग पुर्‍याउने व्यक्तिलाई सम्मान गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूपेश खड्काका अनुसार बेलायत सरकारको ३ करोड ९९ लाख ७६ हजार ५०३ रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको सेवा केन्द्र भवनमा सोधपुछ, स्वागत, पीडित सहायता, अस्थायी आश्रय, बालमैत्री कक्ष, परामर्श कक्ष तथा बैठक कक्षको व्यवस्था गरिएको छ।

भवनको पहिलो तलामा सेवा केन्द्र प्रमुखको कार्यकक्ष, प्रशासन तथा अभियोजन कक्ष रहेका छन्। त्यस्तै, प्रहरी आवासतर्फ सेवा केन्द्र प्रमुख, जुनियर प्रहरी अधिकृत, प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्मका लागि आवास, साथै भान्सा र भोजन कक्षको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।