Breaking Nepal

काठमाडौं। पूर्वी नेपालमा पछिल्लो समय बढ्दै गएको विद्युत् अवरोध र अनियमित आपूर्तिप्रति व्यापक जनगुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणाली सुधारका लागि स्थलगत अनुगमनलाई तीव्र बनाएको छ।
विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र नियमित बनाउने उद्देश्यसहित प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ नेतृत्वको टोली मोरङ र सुनसरीका विद्युत् पूर्वाधार तथा वितरण प्रणालीको निरीक्षणमा पुगेको हो। टोलीमा वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख तथा उपकार्यकारी निर्देशक राजन ढकाल पनि सहभागी छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विराटनगरसहित पूर्वी क्षेत्रमा देखिएको विद्युत् आपूर्ति समस्यालाई प्राथमिकताका साथ समाधान गर्न निर्देशन दिएपछि प्राधिकरणले स्थलगत अनुगमन सुरु गरेको जनाएको छ।
अनुगमनका क्रममा टोलीले प्रादेशिक कार्यालयका प्रमुख तथा मोरङ, सुनसरीसहित विभिन्न जिल्लाका वितरण शाखा प्रमुखसँग विद्युत् आपूर्तिको वर्तमान अवस्था, प्राविधिक चुनौती र सुधारका उपायबारे समीक्षा गरेको छ। साथै, २४ जना कार्यालय तथा सेवा केन्द्र प्रमुखसँग समन्वय बैठक गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएको प्राधिकरणले जनाएको छ।
टोलीले ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्नुका साथै दुहबी ग्रिड महाशाखाअन्तर्गत रहेको दुहबी सबस्टेसनको अवस्थाबारे समेत जानकारी लिएको छ।
प्राधिकरणले सुनसरीको बर्जुस्थित १३२ केभी सबस्टेसन निर्माण आगामी तीन महिनाभित्र सम्पन्न गर्न निर्माण कम्पनी र सम्बन्धित कर्मचारीलाई स्पष्ट कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिएको छ। त्यस्तै, मोरङको केरङस्थित सबस्टेसन एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्र बनाउन पनि निर्देशन दिइएको छ।
प्राधिकरणका अनुसार दुवै सबस्टेसन पूर्वी नेपालको विद्युत् आपूर्ति प्रणालीका लागि रणनीतिक रूपमा महत्वपूर्ण आयोजना हुन्। त्यसैले निर्माणमा ढिलाइ हुन नदिन आवश्यक समन्वय बढाउन र पर्याप्त जनशक्ति परिचालन गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ।
प्राधिकरणले पूर्वी क्षेत्रमा सञ्चालित अन्य विद्युत् आयोजना, प्रादेशिक कार्यालय तथा वितरण शाखाको अनुगमनसमेत निरन्तर जारी रहने जनाएको छ। विद्युत् सेवालाई थप विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन कर्मचारीलाई जिम्मेवारीपूर्ण ढंगले काम गर्न तथा सेवा सुधारलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिइएको प्राधिकरणको भनाइ छ।