Breaking Nepal

विराटनगर। विभिन्न आर्थिक तथा आपराधिक गतिविधिसँग जोडिएको अनुसन्धानका क्रममा प्रहरीले विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय मुकेश कार्कीलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार कार्कीलाई अभिषेक गिरीसँग सम्बन्धित आर्थिक कारोबार र त्यससँग जोडिएका गतिविधिबारे अनुसन्धान गर्न शनिबार बिहान पक्राउ गरिएको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार कार्कीमाथि आपराधिक लाभसँग सम्बन्धित आर्थिक गतिविधिमा संलग्न भएको आशंकाका आधारमा अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानले देखाएका तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
यसअघि अभिषेक गिरीलाई असार १३ गते विराटनगर महानगरपालिका–८ स्थित निवासबाट पक्राउ गरिएको थियो। जिल्ला कारागार मोरङमा कैदीबन्दीका लागि असार १२ गते वितरण गरिएको राशनसँग सम्बन्धित रकमबाट १३ लाख ६० हजार रुपैयाँ असुली गरेको आरोपमा उनीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दा दर्ता भएको थियो।
जिल्ला अदालत मोरङको आदेशपछि असार २२ गते गिरी रिहा भए पनि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्काल पुनः नियन्त्रणमा लिएर काठमाडौं लगेको थियो। हाल उनीविरुद्ध काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा अनुसन्धानको चरणमा रहेको छ।
प्रहरी स्रोतका अनुसार शनिबार पक्राउ परेका कार्की जिल्ला कारागारसँग सम्बन्धित आर्थिक लेनदेन तथा गिरीका अन्य आर्थिक गतिविधिमा प्रत्यक्ष संलग्न रहेको आशंका गरिएको छ। अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कार्कीविरुद्ध कुन कानुनी कसुरमा मुद्दा दर्ता गर्ने भन्ने निर्णय गरिने मोरङ प्रहरीले जनाएको छ।