मोरङको सुनवर्षीमा बालिकाको रहस्यमय मृत्यु, प्रहरीको अनुसन्धान सुरु

Breaking Nepal

शनिबार ,साउन ९ , २०८३ ०८:५५

विराटनगर– मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियामा चार वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। घटनालाई शंकास्पद मान्दै प्रहरीले हत्या भएको कोणबाट अनुसन्धान अघि बढाएको छ।

मृतक स्थानीय जफारुल मियाँकी चार वर्षीया छोरी कायानत खातुन हुन्। उनी शुक्रबार अपराह्नदेखि सम्पर्कविहीन भएपछि परिवार र स्थानीयले खोजी गरेका थिए। खोजीका क्रममा घरदेखि करिब २०० मिटर पूर्वतर्फ रहेको घाँसीबारीमा उनको शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रारम्भिक अनुसन्धानमा बालिकाको निधार र कन्चटमा गम्भीर चोट देखिएको छ। शव फेला पर्दा शरीरको माथिल्लो भागमा कपडा नभएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। यद्यपि प्रारम्भिक रूपमा यौन हिंसाको स्पष्ट संकेत नदेखिएको र त्यसबारे पुष्टि पोस्टमार्टम प्रतिवेदनपछि मात्रै हुने बताइएको छ।

प्रहरीका अनुसार घटनाको कारणबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। घटनास्थलबाट प्रमाण सङ्कलन गरिएको छ भने स्थानीयसँग सोधपुछ र सम्भावित संलग्न व्यक्तिको खोजीलाई तीव्र पारिएको छ।

शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनामा संलग्न व्यक्ति हालसम्म पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।